३० चैत्र २०८२, सोमबार | April 13, 2026

डढेलोबारे अझै छैनन् सचेत



तनहुँ । जिल्लामा गत चैतदेखि मात्रै १६२ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । त्यसबाट ठूलो क्षति भएको छ । यहाँका पालिका र सरोकार भएका निकायले सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गरे पनि डढेलोका घट्ना भने भइरहेका छन् ।

डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी सहायक वन अधिकृत राजकुमार श्रेष्ठले यस अवधिमा जिल्लाका विभिन्न १२ वटा सामुदायिक वनमा डढेलो लागेको जानकारी दिए । यसबारे एकीकृत विवरण सङ्कलनको काम भइरहेको उनले बताए ।

वनमा डढेलो लगाउनु हुँदैन भनेर जिल्लास्थित दशवटै पालिकामा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि डढेलो लाग्ने क्रम नरोकिएको श्रेष्ठको भनाइ छ । उनले भने, “स्थानीय तहको सहयोगमा सामुदायिक वनका पदाधिकारी र सदस्य राखेर सचेतना फैलाउने काम निरन्तर भइरहेकै छ तर पनि वर्षैपिच्छे डढेलोका घटना बढिरहेकै छन् । यसमा हामी सबै चिन्तित छौँ ।”

जिल्लामा ८२ हजार ५४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ भने दशवटा स्थानीय तहमा छ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन र छवटा धार्मिक वन रहेका छन् । गर्मीयाम सुरु भएसँगै यहाँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको र सो कार्य मानवीय असावधानीकै कारण भए पनि त्यसमा सङ्लग्नको पहिचान गर्न नहुँदा कारबाहीको दायरामा ल्याउन नसकिएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।

यहाँ घर नजिकैको पातपतिङ्गर सफा गर्ने नाममा जलाउने, गाईबाख्राका लागि घाँस पलाउँछ भन्दै वनमा आगो लगाउने प्रवृत्ति कायमै छ । त्यसलाई निरुत्साहित गर्न सचेतनाका कार्यक्रम गरिए पनि त्यसको प्रतिफल आउन सकेको छैन । डिभिजन वन कार्यालयले जिल्लाका आठवटै सब डिभिजनमार्फत वन डढेलो सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।

त्यसक्रममा वनमा अग्निरेखा बनाउने, पात भर्ने समयमा सफा गर्ने, वनजङ्गल बाहिर लगेर मात्र गोल पोल्ने, आगो बल्ने चीज लिएर वनमा नजाने, सुकेका र ढलेका रूख तथा हाङ्गाबिङ्गाहरु सुक्खा मौसम अगावै हटाउने विषयमा सामुदायिक वनका उपभोक्तालगायतलाई सचेत गराउने गरिन्छ । “गर्मी मौसममा बिँडी, चुरोट खाएर ननिभाइ फाल्नाले, वन्यजन्तु भगाउन आगो लगाउनाले, नयाँ घाँस उमार्नका लागि आगो लगाउनाले डढेलोको प्रकोप बढ्न सक्छ”, श्रेष्ठले भने, “गोठालो तथा केटाकेटीहरूले मनोरञ्जनका लागि वनमा आगो बाल्ने, वन नजिकका खेतबारीमा झारपात जलाउने र ननिभाउने गर्नाले पनि आगलागीका घटना हुन सक्छन् । यसतर्फ सचेत हुनुपर्छ भनेर जानकारी दिइरहेकै छौँ ।”

डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ । वन ऐनमा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल उपर गरी तीन वर्ष कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ७ : ४४ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका