काभ्रेपलाञ्चोक । पूर्वराष्ट्रपति डा रामवरण यादवले गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि जीवन उपयोगी भएको बताएका छन्। बुद्धका सन्देशलाई देश विदेशमा फैल्याउन सबै पक्ष र क्षेत्र लाग्नुपर्नेमा उनले जोड दिए ।
काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म आयोजित बृहत शान्ति पदयात्राको आज उद्घाटन गर्दै पूर्वराष्ट्रपति डा यादवले परिवर्तित समयमा पनि गौतमबुद्धका सन्देश देश विदेशका हरेक नागरिकका लागि उपयोगी भएको बताए ।
“गौतमबुद्धका सन्देशलाई विश्वव्यापी बनाउन आवश्यक छ, यसका लागि सबै पक्ष लाग्नु आवश्यक छ”, उनले भने।
शान्ति र सद्भावको सन्देश फैलाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न तथा स्थानीय कला, संस्कृतिको सम्बद्र्धन गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको संस्थाका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिए ।
गौतमबुद्धले पाइला टेकेको पनौतीको मानेश्वरीदेखिे सुन्थान–ईंटे–शङ्खु– शङ्खेश्वरी–जङ्गल हुँदै नमोबुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको हो । समाजले यसअघि २०८० असोजमा पनि सोही ‘रुट’मा पदयात्रा आयोजना गरेको थियो । पदयात्रामा पाँच सयभन्दा बढी सहभागी रहेका आयोजकले जनाएको छ ।


















प्रतिक्रिया