१३ भदौ २०८३, शनिबार | August 29, 2026

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित



काठमाडौं । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो ।

विभागका निर्देशक हिमाल गौतमले भने, “सगरमाथामा तीव्र गतिको हावा बहेका कारणले गर्दा आज आरोहण हुन नसकेको खबर आएको छ ।”

आरोहणको तयारीमा रहेका धेरै सङ्ख्याका आरोही अहिले सुरक्षित स्थलतर्फ फर्किदैछन् । अक्सिजन पर्याप्त भएका आरोही भने दोस्रो र तेस्रो शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन् । सगरमाथाको आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रतिनिधि पासाङ भोटेका अनुसार मौसममा आएको खराबीले सगरमाथा आरोहण प्रभावित भएको छ ।

मौसमका कारण मे १५ तारिखमा आरोहण गर्ने योजना रद्द भएको छ । सम्भवतः मे १४ तारिखको आरोहण योजना पनि रद्द हुनेछ । उक्त मितिमा सगरमाथाको चुचुरोमा पुग्ने योजना बनाएका आरोही आधार शिविर झरिरहेको विभागका प्रतिनिधि भोटेले बताए । उनले भने, “मौसमका कारण आज सगरमाथाको आरोहण हुनसकेको छैन । चौँथो शिविर पुगेका आरोही आज र भोलि मङ्गलबार सबैजना आधार शिविर आउनुहुन्छ होला ।”

मौसम खराबीका कारण अबको तीन÷चार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ । मौसमले साथ दिए मे १८ तारिखदेखि सगरमाथा आरोहण हुने विभागले उल्लेख गरेको छ । सगरमाथा आरोहण व्यवस्थापनको जिम्मेवारी पाएको एकटके एक्सपिडिसन कम्पनीका अनुसार मे ११ देखि १४ तारिखसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना थियो । मे १२ देखि १५ सम्म ‘समिट बिन्डो’ रहेको थियो । मे १६ र १७ मा हिमपात हुने अनुमान गरिएको थियो । तर पाँच दिन अगाडि नै सगरमाथा क्षेत्रको मौसम बिग्रिएर आरोहण अवरुद्ध भएको हो ।

हालसम्म सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ्ङ)सहित चार समूहका आरोहीले मात्रै सगरमाथा चढेको विभागको फिल्ड कार्यालयले जनाएको छ । कञ्चनजङ्घा हिमालमा पनि प्रतिकूल मौसमले आरोहण प्रभावित भएको विभागले जनाएको छ ।

मे १० तारिखमा दावा फुञ्जो शेर्पा र फुर्साङ शेर्पाले सगरमाथा आरोहण गर्नुभएको छ । यस्तै मे ११ मा बेलायतका आरोही मिचेल लियोनार्ड डाक्रेले आरोहण गर्नुभयो । नेपालबाट ग्याल्जे शेर्पा, फुरी शेर्पा र आङ पेम्बा शेर्पाले सगरमाथा आरोहण गर्नुभएको छ । त्यस्तै इक्वेडरका पेट्रिसियो एरेभालोले पनि सोही दिन आरोहण गर्नुभएको छ । मे ११ तारिखकै दिन दावा फुञ्जो शेर्पाले लोहोत्से हिमालको पनि आरोहण गरेका छन् ।

आरोहीहरु अहिले सगरमाथाको दोस्रो र तेस्रो शिविर आसपास प्रतिक्षारत छन् । त्यसैगरी यस याममा पाँच नेपाली, तीन चिनियाँ आरोही र एक किर्गिस्तानीले मकालु आरोहण गरेको विभागको फिल्ड कार्यालयले जनाएको छ ।

वसन्त ऋतुको सगरमाथा आरोहण यही वैशाख २६ गतेदेखि सुरु भएको हो । एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेका थिए ।

यो याममा सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ४ : १४ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित