काठमाडौं । आईसीसी विश्वकप लिग-२ को अभ्यासका लागि युके पुगेको नेपाली टोलीले एक दिवसीय खेलमा लगातार दोस्रो जित निकालेको छ । दीपेन्द्र र भीमको शतकमा नेपालले मेरिलेबोन क्रिकेट क्लबलाई ३३६ रनको विशाल लक्ष्य दिएको हो। नेपालले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै ३३५ रन बनाएको हो ।
नेपालका लागि ६७ बलको सामना गरेका दीपेन्द्रले १२ चौका र चार छक्काको मद्दतमा सर्वाधिक ११० रन बनाए । भीमाले ९० बलको सामना गर्दै १० चौका र दुई छक्कासहित १०४ रन बनाएका थिए। नेपालका दीपेन्द्र र भीम दुवै रिटायर्ड हट भएका थिए ।
यसअघि नेपालका अनिलकुमार साह २७ रनमा आउट हुँदा बसीर अहमद ३७ र करण केसी १६ रनमा अविजित रहे । नेपालविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको मेरिलेबोन क्रिकेट क्लबका कुनै पनि खेलाडीले टिकेर खेल्न सकेनन् । नेपालले मेरिलेबोनलाई ३५.३ ओभरमा २१२ रनमा अलआउट गरेको हो ।
यसअघि पहिलो अभ्यास खेलमा नेपालले कार्डिफको न्युपोर्ट टोलीलाई तीन विकेटले हराएको थियो । शुक्रबार सम्पन्न खेलमा २१३ रनको लक्ष्य नेपालले ३७.५ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको थियो ।
उक्त खेलमा नेपालका लागि आरिफ शेख र गुल्सन झाले सानदार अर्धशतक बनाएका थिए। गुल्सनले नेपालका लागि सर्वाधिक ८० रन बनाउँदा आरिफले नटआउट ७३ रन बनाएका थिए । आरिफ र गुल्सनले सातौ विकेटका लागि १३४ रनको साझेदारी गरेका थिए ।
युकेमा नेपालले थप एक टोलीसँग अभ्यास खेल्नेछ। युकेको अभ्यास सकेपछि नेपालले लिग-२ का खेल खेल्नेछ ।


















प्रतिक्रिया