काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक बोलाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारमा भएको छलफल पछि अर्थमन्त्री पौडेलले सिफारिस समितिको बैठक बोलाएका हुन् । बैठक अपरान्ह ४ बजे बस्ने भएको छ । समितिमा अर्थमन्त्री संयोजक, पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य रहेका छन् । कांग्रेस र एमालेबीच गभर्नरका विषयमा कुरा नमिल्दा गत चैत २४ गतेदेखि यो पद रिक्त रहेको छ ।
सिफारिस समितको बैठक पछि आजै साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सिफारिस समितिले ३ जना व्यक्तिको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद्ले त्यसबाट एकजनालाई गभर्नर बनाउने निर्णय गर्नेछ । कांग्रेसले प्राडा विश्व पौडेलको नाम अघि सारेको छ ।


















प्रतिक्रिया