काठमाडौं । मुम्बई इन्डियनविरुद्ध सात विकटको जित निकाल्दै पन्जाब किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो क्वालिफायरमा प्रवेश गरेको छ ।
सुरुमा ब्याटिङ गरेको मुम्बईले दिएको १८५ रनको लक्ष्य पछ्याएको पन्जाबले ९ बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १८७ रन बनाएको हो ।
पन्जाबको जितमा प्रियांश आर्य र जोस इङ्लिसले दोस्रो विकेटका लागि गरेको १०९ रनको साझेदारी महत्त्वपूर्ण साबित भएको थियो ।
जोस इङ्लिसले ४२ बलमा ७३ तथा आर्यले ३५ बलमा ६२ रन जोडे । यी दुवैलाई माइकल सान्टनरले आउट गरे । जसप्रित बुमराहले चार ओभरमा २३ रन खर्चेर एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले सात विकेटको क्षतिमा १८४ रनको योगफल खडा गरेको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले ५७ रनको योगदान गरे । ३९ बलको सामना गरेका उनको पारीमा ६ चौका र दुई छक्का समावेश थियो ।
कप्तान हार्दिक पाण्डेले १५ बलमा २६ तथा नमन धिरले १२ बलमा २० रन जोडे । विजयी पन्जाब क्वालिफायरमा प्रवेश गर्दा मुम्बईले इलिमिनेटर खेल्ने पक्का भएको छ ।
लिग चरणको अन्तिम खेल लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर बंगलोरुका बीचमा हुनेछ । सो खेलमा बंगलोरु विजयी भएमा क्वालिफायर प्रवेश गर्नेछ भने लखनउ विजयी भएमा गुजरात टाइटनले पहिलो क्वालिफायर खेल्नेछ ।


















प्रतिक्रिया