४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

तीनतलेका किसानले व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी लिँदै



भोजपुर । षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरु चिराइतोखेतीमा जुटेका हुन् ।

षडानन्द–१० साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका एक सय २० बढी किसानले चिराइतो, लोठसल्ला, सतुवालगायतको व्यावसायिक खेती गरिरहेका छन् । यहाँका माथिल्लो भेगका किसानको मुख्य आम्दानीको स्रोत चिराइतो रहेको छ । नगरपालिकाको माथिल्लो भेगलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएको छ ।

“चिराइतो तीनतले क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ, अन्यबालीको तुलनमा जडीबुटी चिराइतोखेतीबाट राम्रो आम्दानी हुने भएपछि किसान व्यावसायिक खेतीमा लागेको देखिन्छ । अहिले हामीले यो क्षेत्रलाई चिराइलो पकेट क्षेत्र घोषणा गरेर जडीबुटी खेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उनले भने।

तीनतले क्षेत्रका किसानले चिराइतो बिक्रीबाट एकपटकमा न्यूनतम रु एक लाख ५० हजारदेखि १२ लाखसम्म आम्दानी लिने गरेको स्थानीय किसान फुर्लाक्पा शेर्पाले जानकारी दिए। आफूले अहिले २५ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेको उहाँले बताउनुभयो । चिराइतो बिक्रीबाट औसतमा वार्षिक रु चारदेखि सात लाखसम्म आम्दानी लिने गरेको उहाँको भनाइ छ । गत वर्ष चिराइतो विक्रीबाट रु सात लाख आम्दानी गरेको उनले बताए।

उत्पादन भएको चिराइतो घरबाट नै ठेकेदारले लैजाने गरेको स्थानीय अर्का किसान निमा शेर्पाले बताउनुभयो । गत वर्ष एक मन (४० केजी) चिराइतो घरबाट नै रु ४० हजारदेखि ४५ हजारसम्ममा बिक्री भएको उनले जानकारी दिए। राम्रो आम्दानी हुने भएपछि १० वर्षअघिबाट व्यावसायिक रूपमा चिराइतोखेतीमा जुटेको उनको भनाइ छ ।

“मैले १० वर्षअघिबाट चिराइतोको व्यावसायिक खेती गरिरहेको छु”, उनले भने, “चिराइतोबाट राम्रो आम्दानी लिँदै पनि आएको छु । बर्सेनि मूल्यवृद्धि भइरहेको आवस्था छ । त्यहीँ भएर धेरै किसान यसको व्यावसायिक खेतीमा लागेका छन् ।” चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न योग्य हुने हुन्छ । चिराइतो भदौ, असोज, कात्तिकमा सङ्कलन गरिने शेर्पाले बताए। पछिल्लो समय चिराइतोमा बोट सुक्ने, जरा कुहिने रोगको समस्या देखिन थालेको उनले जानकारी दिए। राज्यको तहबाट रोग कीरा नियन्त्रण सहयोग भएमा किसानले अझ राम्रो आम्दानी सक्ने उनको भनाइ छ ।

ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुकालगायत रोगका लागि औषधिको रूपमा चिराइतो प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ । पात, डाँठ, जरालगायत सम्पूर्ण भाग नै प्रयोग गर्न सकिन्छ । यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको व्यवसायीको भनाइ छ ।

एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँका माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको छ । चिराइतो षडानन्द नगरपालिकाको वडा नं १०, ११ र १३ को माथिल्लो भेग, टेम्केमैयुङ –५ मझौले, तिम्मा, दोभाने, हेलौंछा, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत व्यावसायिक खेती हुने गरेको छ ।
रासस

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  १० : २६ बजे

विषादीको विकल्पमा ‘जैविक झोल’

म्याग्दी । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

मुस्ताङ । यहाँको नेपाल-चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय

खोटाङ । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ

गुल्मीको सत्यवतीमा मोटरसाइकल दुर्घटना हुँदा स्याङ्जाको कालीगण्डकीका दुई जनाको मृत्यु

गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी-पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना

एमालेको सचिवालय बैठक आज बस्दै, कार्यविभाजन र स्थानीय तह केन्द्रित रणनीतिमा छलफल हुने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।