काठमाडौँ । वर्षभरि प्रतीक्षा गरेर कुरेको तिहार आयो, उज्यालो ल्यायो । घरघरमा झिलिमिली बत्ती बले, ढोकाढोकामा सयपत्री र मखमलीका माला सजिए । गाउँ–सहरभरि फूलको बासना फैलिएको छ । बालबालिकादेखि वृद्धसम्म सबैको अनुहारमा खुसी छ । नेपालीको दोस्रो ठूलो पर्व तिहार केबल एउटा चाड मात्र होइन, यो हाम्रो संस्कृति, सभ्यता र मानवताको जीवन्त प्रतिविम्ब हो । यस वर्षको तिहार हामीबाट बिदा भएर गइसक्यो तर यसले छोडेका केही तीता अनुभव र गम्भीर प्रश्न भने अझै हाम्रासामु छन् ।
तिहारलाई हामी किन अरू चाडभन्दा फरक र विशिष्ट मान्छौँ ? किनकी यो पर्वले मानिसलाई मात्र होइन, मानिससँगै बाँच्ने अन्य सबै पशु प्राणीलाई पनि समान रूपमा सम्मान गर्छ । काग तिहारमा हामी कागलाई बोलाएर भात खुवाउँछौँ, किनकि कागलाई यमराजको दूत मानिन्छ । उसले लगाएको कुन तिर्ने प्रयत्न गर्छौं । कुकुर तिहारमा कुकुरलाई माला, टीका लगाएर मीठो खुवाएर पूजा गर्छौं किनकि कुकुर हाम्रो वफादार साथी र यमराजको अर्को दूत हो । गाई तिहार र गोरु तिहारमा गाई, गोरुलाई लक्ष्मीको प्रतीक मानेर पूजा गर्छौं । लक्ष्मीपूजामा ऐश्वर्य, सम्पन्नता र धनकी देवीको आह्वान गर्छौं । भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गरेर एकअर्काको सम्मान गर्छन् । यसको मूल सन्देश हो—सबै जीवप्रति प्रेम, करुणा र सहअस्तित्व । प्रकृतिका सबै प्राणीलाई सम्मान गर्नुपर्छ भन्ने यो सन्देशकै कारण तिहारलाई विश्वकै सबैभन्दा मानवीय पर्वहरूमध्ये एक भनिन्छ ।
तर यही उज्यालोको पर्व, यही सम्मानको पर्व विगत केही दशकदेखि पटका वा आतसबाजीको ठूलो आवाज, धुवाँ र जोखिमले गर्दा अभिशापमा परिणत हुँदै गएको छ । हामी कागलाई पूजा गर्ने दिनमै कागलाई भगाउँछौँ । कुकुरलाई माला लगाउने दिनमै कुकुरलाई डरले थरथर काम्ने बनाउँछौँ । गाईलाई लक्ष्मी भनेर पूजा गर्ने हामी त्यही गाईलाई पटकाको आवाजले आतङ्कित तुल्याइरहेका त छैनौँ ? तिहारमा पटका पड्काउनु हाम्रो मौलिक परम्परा होइन । हाम्रा बाजेबज्यैको पालामा तिहारमा दियो बाल्ने, देउसी–भैलो खेल्ने, सेलरोटी खाने, म्हःपूजा गर्ने, भाइटीका लगाउने र फूलमाला सजाउने चलन थियो । पटका त आयातित र व्यापारिक स्वार्थ बोकेको संस्कृति हो । हामीले त्यसलाई आफ्नो मौलिक पर्वको अङ्ग ठान्न थालेका छौँ, यो ठूलो भ्रम र विचलन हो ।
पटकाको कारण ठूलो अर्थराशि एकातिर विदेशिएको छ भने अर्कोतिर धनजनको ठूलो नोक्सान भइरहेको छ । ठाउँठाउँमा आगलागी, बस्ती विनाश, मृत्युवरणजस्ता घटना हरेक वर्ष दोहोरिरहेका छन् । छिमेकीले पटका पटकाउने क्रममा आकाशतिर उडाएको पटका कहाँनेर कसको के नोक्सान गर्ने हो भनेर डराउनुपर्ने अवस्था रहिरहन्छ । पटकाकै कारण कुकुरहरू हराएको, डरले लुकेको र खाना नखाएको समाचार आए । काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) दिउँसोमै १४३ पुगेर अस्वस्थकर भएको समाचार आयो । पर्सामा एक जना बालकको पेटमा पटकाको टुक्रा छिरेर घाइते भई ज्यान गुमाएको समाचारले हामीलाई झस्कायो । प्रहरीले विस्फोटक पदार्थसम्बन्धी कानुनअन्तर्गत पटकाको अवैध ओसारपसार र प्रयोगमा कडाइ गर्दै सजायको व्यवस्था भएको स्मरण गरायो, तर कार्यान्वयन कमजोर रह्यो । पटकाको आवाज र झिरझिरले कोही कसैलाई रमाइलो लाग्ला, तर पशुपक्षी, वातावरण र कमजोर मानिसलाई के हुन्छ भन्ने विषयमा हामीले कहिल्यै गम्भीर रूपमा सोचेका छौँ ?
काग र चराचुरुङ्गीको कुरा गरौँ । काग तिहारको दिन बिहानै कागलाई बोलाउने चलन छ । काग आयो भने शुभ मानिन्छ । तर तिहार सुरु हुनुभन्दा एक हप्ताअघिदेखि नै पटका पड्कन थाल्छ । काग मात्र होइन, परेवा, मलेवा, भँगेरा, ढुकुर, सुगा, कोइली र अन्य सबै चराचुरुङ्गी पटकाको आवाज सुन्नासाथ डराएर नजिकको जङ्गलतिर भौँतारिन थाल्छन् । उनीहरूले आफ्नो गुँड छोड्छन् । गुँडमा भएका बच्चा भोकभोकै मर्छन् । कतिपय चरा डरले रूखबाट खसेर मर्छन् । कतिपयले दिशा बिर्सेर टाढा पुग्छन् र फेरि आफ्नो बासमा फर्कन सक्दैनन् । वैज्ञानिक अध्ययन भन्छन्, चराको कान अत्यन्तै संवेदनशील हुन्छ । उच्च डेसिबलको आवाजले उनीहरूको श्रवणशक्तिमा असर पर्छ । एउटा सामान्य पटकाको आवाज १२० देखि १६० डेसिबल वा त्यसभन्दा बढी हुन्छ । अर्थात् हामीले रमाइलोका लागि पड्काएको एउटा पटकाले चराको कानलाई गम्भीर क्षति पुर्याउन सक्छ । के हामीले कहिल्यै यो सोचेका छौँ ?
दोस्रो, कुकुरको कुरा गरौँ । कुकुर तिहार हाम्रो सबैभन्दा भावुक पर्व हो । कुकुरलाई हामी बफादार साथी मान्छौँ । तर तिहारको राति त्यही कुकुरको हालत के हुन्छ ? कुकुरको श्रवणशक्ति मानिसको भन्दा धेरै बढी हुन्छ । उनीहरूले ४०–६० हजार हर्जसम्मको आवाज सुन्न सक्छन्, जबकी मानिसले करिब २० हजार हर्जसम्म मात्र । हामीलाई ठूलो लाग्ने आवाज कुकुरलाई बम पड्के जस्तै लाग्छ । कुकुरमा दुखाइको सीमा करिब ९५ डेसिबल आसपास मानिन्छ, जबकी पटका १४०–१९० डेसिबलसम्म पुग्छ । त्यसैले तिहारमा कुकुरहरू डराएर घरको कुनामा, खाटमुनि, नालीमा, बाथरुममा लुकेर बस्छन् । खाना खान सक्दैनन् । पानी पिउन सक्दैनन् । बाहिर निस्कन सक्दैनन् । काठमाडौँ, पोखरा, चितवन, विराटनगर, जनकपुर, नेपालगञ्ज जस्ता ठूला सहरमा हरेक तिहारमा सयौँ कुकुर हराउँछन् । डरले भागेका कुकुरलाई गाडीले हान्छ । कतिपय कुकुर डरले मुटुको धड्कन बढेर वा तनावले मर्छन् । पशु चिकित्सक भन्छन्, तिहारको समयमा कुकुरमा एन्जाइटी, डर, भोक नलाग्ने, झाडा लाग्ने जस्ता समस्या अत्यधिक बढ्छ । हामीले माला लगाएर पूजा गरेको कुकुर राति थरथर कामिरहेको हुन्छ भने त्यो पूजाको के अर्थ ? विचार गरौँ १ अब गाई, गोरु र अन्य घरपालुवा पशुको कुरा गरौँ । गाई तिहारमा हामी गाईलाई लक्ष्मी मानेर पूजा गर्छौं । तर पटकाको आवाजले बाच्छाबाच्छी डराएर थरथर काप्छन् । दुहुनो गाई हो भने दूध दिन छोड्छिन्, गर्भवती गाईको गर्भ तुहिने खतरा हुन्छ । गोरु डराएर डोरी चुँडाएर भाग्छ । बाख्रा, भैँसी, कुखुरा सबै आतङ्कित हुन्छन् । किसान भन्छन्, तिहारको समयमा पशुले घाँस खान छोड्छ, दूध दिन छोड्छ । एकोहोरो टोलाइरहन्छ । यस अवधिमा वन्यजन्तुको कुरा गरौँ । नेपालको तराई र पहाडका धेरै बस्ती जङ्गलको नजिक छन् । तिहारमा पड्काइने पटकाको आवाज जङ्गलभित्रसम्म पुग्छ । त्यसको कर्कश र डरलाग्दो आवाजले बाँदर, मृग, चितुवा, हात्तीजस्ता वन्यजन्तु आतङ्कित हुन्छन् र सुरक्षाको लागि बस्तीतिर पस्छन् । यसले मानव–वन्यजन्तु द्वन्द्व बढाउँछ । कतिपय ठाउँमा त पटकाकै कारण जङ्गलमा आगलागी भएको समाचार पनि आएका छन् ।
पटकाले पशुपक्षीलाई मात्र होइन, मानिसलाई पनि छोडेको छैन । हरेक वर्ष तिहारमा पटकाले गर्दा आगलागी हुन्छ । बालबालिकाको हात जलेको, आँखा फुटेको, कानको जाली फुटेको समाचार आउँछन् । कतिपयले ज्यानै गुमाएका छन् । हरेक वर्ष पटकाकै कारण सहर–बजार र बस्तीमा आगलागीको घटना हुन्छ । यसकै कारण दर्जनौँ बालबालिका जलनमा पर्छन् र अस्पताल पुग्छन् । के यस्तो रमाइलो रमाइलो हो ? जसले कसैको घर उजाड्छ, कसैको भविष्य अन्धकार बनाउँछ, त्यसलाई रमाइलो भन्न मिल्छ रु तिहारको बेला नजिकको अस्पतालको आकस्मिक वार्डमा पुग्नुस् त पटकाको करामत बुझ्न सघाउ पुग्छ । बालबालिका, वृद्धवृद्धा, महिला र श्वासप्रश्वासका बिरामी सबैभन्दा बढी प्रभावित हुन्छन् ।
यसबाट हुने वातावरणीय प्रदूषणको के कुरा गर्नु ? पटका पड्काउँदा निस्कने धुवाँमा सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड जस्ता विषाक्त ग्यास हुन्छन् । यी ग्यासले हावालाई प्रदूषित बनाउँछन् । साथै पिएम २.५ र पिएम १० जस्ता सूक्ष्म कणहरू बढ्छन्, जसले आँखा पोल्ने, छाला चिलाउने, दम, खोकी र श्वासप्रश्वासका समस्या निम्त्याउँछन् । विभिन्न अध्ययनले तिहार अवधिमा वायु प्रदूषणको स्तर बढ्ने देखाएका छन् । तिहारको अवधिमा यसैका कारण आँखा पोल्ने, छाला चिलाउनेजस्ता समस्याको साथै दम, खोकी देखिन्छस चिकित्सकहरू बताउँछन् ।
यसको समाधान के छ ? यो हाम्रो संस्कृतिको अङ्ग नभएको, यसबाट हानिनोक्सानी नै ज्यादा हुने भएकोले पहिले त हामी आफैँले पटका नकिन्ने, नपड्काउने प्रण गर्नुपर्छ । आफ्ना छोराछोरीलाई पटका किनिदिनुको सट्टा दियो, फूलमाला, फलफूल किनिदिऔँ । उनीहरूलाई पटकाले पशुपक्षी र प्रकृतिलाई पीडा हुन्छ भनेर बुझाऔँ । रमाइलो गर्न पटका नै चाहिँदैन भन्ने कुरा सिकाऔँ । दियो बालेर, देउसी–भैलो खेलेर, आफन्तसँग बसेर पनि तिहार मनाउन सकिन्छ । हिजो हाम्रा अग्रज र पुर्खाहरूले त्यसै गरेर तिहार मनाए । यसका लागि सामाजिक तहबाटै सतर्कता अपनाउन वडा, टोल, क्लब, विद्यालयले पटकामुक्त तिहार अभियान चलाउनुपर्छ । यसबाट हुने नोक्सानीको बारे सचेतना कार्यक्रम गर्नुपर्छ । घरपालुवा जनावरलाई तिहारको बेला घर–गोठभित्रै राख्ने, तिनलाई माया गरेर सम्हाल्ने काम गर्नुपर्छ ।
अन्तमा सरकारी तहबाट यसको उत्पादन, बिक्री र प्रयोगमा कडाइ गर्नुपर्छ । नेपालमा विस्फोटक पदार्थसम्बन्धी कानुनले अवैध पटकाको ओसारपसार, भण्डारण र प्रयोगमा तीन वर्षसम्म कैद र जरिवानाको व्यवस्था गरेको छ ।
भारतका दिल्ली–एनसीआरलगायत ठाउँमा पटकामा कडाइ र सीमित अनुमति मात्र दिइएको छ । कुनै एउटा सहर वा नगरपालिका वा महानगरपालिकामा मात्र होइन देशभरि पटका निषेध गरी उल्लङ्घन गर्नेलाई जरिवाना गर्ने व्यवस्था गर्नुपर्छ । यसका लागि प्रहरीको सतर्कता र नागरिकको सहयोग दुवै आवश्यक पर्दछ । तिहार भनेको उज्यालोको पर्व हो । अन्धकारलाई हटाएर उज्यालो फैलाउने पर्व हो तर पटकाको धुवाँ र आवाजले तिहारलाई अन्धकारमय बनाइरहेको छ । हामीले तिहारको मौलिकतालाई फर्काउनुपर्छ । कागलाई माया गर्ने, कुकुरलाई सम्मान गर्ने, गाईलाई लक्ष्मी मान्ने हाम्रो संस्कृतिलाई जोगाउनुपर्छ ।
अन्त्यमा, एउटा कुरा स्मरण गरौँ । हामीले पूजा गर्ने पशुपक्षी बोल्न सक्दैनन् । उनीहरूले आफ्नो पीडा व्यक्त गर्न सक्दैनन् । उनीहरूको पीडा बुझ्ने जिम्मेवारी हाम्रो हो । पटका मनोरञ्जनको साधन होइन, अपितु यो हरेक दृष्टिकोणले अभिशाप हो । यस वर्षको तिहार त बिदा भइहाल्यो, जे–जति नोक्सान पटकाले गर्यो तपाईं–हाम्रोसामु छँदैछ । अब अर्को वर्षदेखि पटकामुक्त तिहार मनाउन पाइयोस् । यसका लागि के के नियम कानुन चाहिन्छ अहिलेदेखि नै तयार पार्दै विकृति, विसङ्गति एवं अभिशापमुक्त तिहारको कल्पना गरौँ । यसो ग¥यौँ भने नै साँचो तिहार हुनेछ, यसैबाट हाम्रो संस्कृतिको रक्षा हुनेछ । हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ । (लेखक संस्कृति तथा सम्पदाविद् हुन्)

















प्रतिक्रिया