काठमाडौं । दाउन्ने खण्डमा सडक हिलाम्य हुँदा आवागमन प्रभावित बनेको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत दाउन्ने सडक खण्ड हिलाम्मे भएपछि सवारी आवागमन प्रभावित भएको हो । सडक हिलोले चिप्लो भएपछि सवारी साधनहरु उकालो उक्लिन सकेका छैनन् ।
निर्माणाधीन सडक हिलाम्मे हुँदा सवारी साधनहरू दुम्किबासबाट दाउन्नेको उकालो चढ्न नसकेका इलाका प्रहरी कार्यालय दुम्किबास नवलपुरले जनाएको छ । त्यसैले सवारी साधनहरुको लामो लाइन लागेको छ । घण्टौंसम्म सडकै रोकिनुपर्दा यात्रुहरु हैरान छन् । नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डिएसपी विरदत्त पन्तका अनुसार पानी परेर सडकमा हिलो भएकाले लोड गरेका गाडीहरु चल्न सकेका छैनन् । अरु गाडीहरु भने विस्तारै-विस्तारै चलेका छन् । तर निर्वाध सन्चालन हुन नसक्दा सवारी साधनहरुको लामो लाइन लागेको छ ।
अँस्तिदेखि नै दाउन्ने खण्डमा सवारी साधन सहजसँग चल्न सकेका छैनन् । त्यहाँ एउटा ट्रक बिग्रिएर रोकिएकाले ट्राफिक जाम भएको थियो । सो ट्रकलाई साइड लगाइसकिए पनि हिलाम्मे सडकमा सवारी साधन सन्चालनमा बाधा पुगेको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया