१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

तनहुँको सामुदायिक वन सर्पगन्धाको व्यावसायिक खेती



तनहुँ । देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको छ । देवघाट-५ को मधुवन सामुदायिक वन उपभोक्ता समितिले जिल्लामै पहिलोपटक चार रोपनी जग्गामा सर्पगन्धाको आठ हजार बिरुवा रोपण गरेको छ । उक्त बिरुवा रोप्नका लागि डिभिजन वन कार्यालयले रु चार लाख र सामुदायिक वन समूहले रु एक लाख १० हजार लगानी गरेको समूहका अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिए ।

सोही वडाकै चक्रवर्ती सामुदायिक वन समूहले चार हजार र रानीवन समूहले एक हजार सर्पगन्धाको बिरुवा रोपेका छन् । पहिला काठजन्य बिरुवा रोप्ने सामुदायिक वनमा अहिले भने महत्त्वपूर्ण तथा दुर्लभ वनस्पतिका रूपमा लिइने सर्पगन्धाको बिरुवा रोप्न थालिएको हो । देवघाट-५ कै कालिका सामुदायिक वन तथा वडा नं १ को सुनझाँक्री सामुदायिक वनले भने आफैँ उम्रिएको सर्पगन्धाको संरक्षण गर्न थालेको छ ।

सर्पगन्धाको महत्व र उपयोगिता बुझेर नै व्यावसायिक खेती गरिएको मधुवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अधिकारीले बताए । सामुदायिक वनको आम्दानी बढाउन पनि उक्त खेती गरिएको उनको भनाइ छ ।

चक्रवर्ती सामुदायिक वन समूहका अध्यक्ष टुकनाथ अधिकारीले वनमा बढेको झाडी फाँडेर बहुमूल्य जडीबुटीका रूपमा रहेको सर्पगन्धाको खेती गरिएको जानकारी दिए । सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले सामुदायिक वनले आम्दानीको विभिन्न स्रोत खोज्नुपर्ने बताए ।

सबडिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्णप्रसाद भट्टले वन समूहका उपभोक्तालाई सर्पगन्धाको महत्वको बारेमा जानकारी गराएपछि यसको व्यावसायिक खेती गर्न सम्भव रहेको उल्लेख गरे । उनले भने, “यसअघि धेरैले झाडी ठानेर यसलाई मास्ने गरेका थिए । सर्पगन्धाको महत्व र उपयोगिताका बारेमा जानकारी गराएपछि सामुदायिक वनहरूले अहिले व्यावसायिक खेती गर्न थालेका छन् ।”

दुई सयदेखि पाँच सय मिटरको उचाइमा रहेको जग्गामा मात्र सर्पगन्धाको खेती गर्न सकिने हुँदा देवघाटकै वडा नं १ र ५ बाहेक अन्य वडाका सामुदायिक वनले भने यसको खेती गर्न सम्भव नरहेको भट्टको भनाइ छ । सर्पगन्धाको जरामा रहेका रिपर्पिन, सर्पेन्टाइन र एजमालिन आदि नामका मुख्य वनस्पतिजन्य रसायन उच्च रक्तचाप, निन्द्रा नलाग्ने, डिप्रेसन, मानसिक उत्तेजना र मृगीजस्ता रोगहरूमा समेत उपयोगी भएकाले हानिरहित प्राकृतिक औषधिका रूपमा यसलाई प्रयोग गरिने उनले उल्लेख गरे ।

देवघाटमा पहिलोपटक व्यावसायिक खेती गरिएको हुँदा जनकपुर र सर्लाहीबाट प्रतिबिरुवा रु ५० का दरले खरिद गरिएको उनले बताए । सरकारले आर्थिक समृद्धिका लागि प्राथमिकता राखेका ३० प्रकारका जडीबुटीमध्ये सर्पगन्धा एक हो । यसको निकासी भन्सार दर नै प्रतिकेजी रु ५० तोकिएको छ । यसको राम्रो संरक्षण गर्नसके दुई वर्षपछि देवघाटका सामुदायिक वनले सर्पगन्धाको जरा बिक्रीबाट मात्र वार्षिक लाखौँ रुपैयाँ आम्दानी लिनसक्ने बताइएको छ ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ८ : ०९ बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै