२१ मंसिर २०८२, आइतबार | December 8, 2025

बागलुङबाट मधेस झरेको ५० वर्षपछि जग्गाधनी पुर्जा


२२ असार २०८२, आइतबार  

819
Shares

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–५, गरगरेका ज्येष्ठ नागरिक भानुभक्त पाध्या (पौडेल) बागलुङको बरेङ्बाट करिब ५० वर्षअघि परिवारसहित साविकको रुद्रपुर (हाल कञ्चन) गाउँपालिकामा बसाइँ सरेर आएका थिए । उनीसँगै सोही गाउँका करिब एक दर्जनभन्दा बढी परिवार तराई झरेका थिए ।

पाध्या साविककको बरेङ्गाउ पञ्चायतको प्रधानसमेत भएका थिए । गाउँमा सबैले प्रधान बा भनेर सम्मान गर्थे । आफू प्रधानपञ्च र त्यसैमाथि अन्य परिवारको पनि आश, तर बसाइँ भने ऐलानी जग्गामा । करिब ५० वर्षसम्म ऐलानी जग्गामा जोतभोग गरे ती परिवारले । हाल भने ती परिवारले ऐलानी जग्गा आफ्नै स्वामित्वमा भोगचलन गर्न पाएका छन् ।

पचास वर्षपछि ती परिवारले आफ्नौ नाममा जग्गाधनी पुर्जा पाएका छन् । स्थानीय एक विद्यालयका प्रधानाध्यापक रहेका बालकृष्ण पराजुलीले भने,“पाँच दशकसम्म जोतभोग गरेको जमिन उनीहरूको नाममा थिएन, त्यसले आयआर्जनका लागि बैंकिङ प्रक्रियामासमेत राख्न पाइएन । पुर्जा प्राप्त गरेसँगै प्रधानबासहितका परिवार जग्गाधनी भएका छन् ।”

हाल ती परिवारसहित कञ्चन गाउँपालिका–५ को सन्डहवा गाउँको एउटा ब्लकका करिब पाँच सय परिवारको लालपुर्जा बनेको छ । यो ब्लकमा मात्रै करिब एकहजार दुई सय परिवारको बसोबास रहेको छ ।

जिल्ला भूमि समस्या समाधान आयोगका अध्यक्ष कुमार थापाले प्रक्रिया पूरा गरेर ती सबै परिवारलाई क्रमशः पुर्जा वितरण गरिने जानकारी दिए । आयोगले स्थानीय पालिकासँगको समन्वयमा गाउँपालिका परिषरमा विशेष समारोहको आयोजना गरी पाध्यासहितका चार सय ३० परिवारलाई एकैदिन जग्गाधनी पुर्जा दिइसकेको उनले बताए ।

अध्यक्ष थापाले भने,“पुर्जा वितरणको कामलाई निरन्तर जारी राखिने छ । अब लगत्तै जिल्लाका अरु पालिकामा पनि लालपुर्जा वितरण गरिने छ ।”आज यहाँ आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जग्गाधनी पुर्जा प्रदान गरेका हुन् । त्यस अवसरमा उनले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको बाहुल्य रहेका क्षेत्रबाट एकसाथ पुर्जा वितरणको काम सुरु गरिएको बताए । पौडेलले भूमिहीनलाई लक्षित गरेर आवाससहित कृषिउद्यमकोसमेत प्रबन्ध गर्ने तयारी भइरहेको बताए ।

“मोही किसान, भूमिहीन श्रमिक, उखडा, गाउँब्लक पीडित किसानको समस्यालाई वर्तमान सरकारले सुरुदेखि नै प्राथमिकतमा राखेर काम गरिरहेको छ । यसपटक समस्याको दिगो समाधान गर्नेगरी सरकार केन्द्रित भइरहेको छ”, उपप्रधानमन्त्री पौडेलले भने ।

विसं २०२१ को भूमि सुधार ऐनले पश्चिम तराईमा उखडा, गाउँब्लक, पाँच नम्बरी र आठ नम्बरी जस्ता समस्या जन्माएको मानिन्छ । तिनै भूमिहीनलाई जग्गाधनी पुर्जा दिने र आवासकोसमेत प्रबन्ध गरिदिने नीति सरकारले ल्याएको त्यस अवसरमा जानकारी दिइयो ।

रुपन्देही जिल्ला भूमिहीन समस्या दृष्टिले सबैभन्दा उच्च स्थानमा रहेको छ । यहाँ कूल ७६ हजार ६५७ जना भूमिहीन रहेका छन् । लुम्बिनी प्रदेशअन्तर्गत पर्ने यो जिल्ला ऐतिहासिक, धार्मिक र व्यापारिक केन्द्र भएकाले जनसङ्ख्याको उच्च घनत्व छ । यसकारण अव्यवस्थित बसोबासीको सङ्ख्यासमेत धेरै रहेको भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले बताए ।

लुम्बिनीको धार्मिक महत्वले बढ्दो बसोबास चाप, भारतसँगको सीमा र औद्योगिक क्षेत्रका कारण आन्तरिक बसाइँसराइ र कानुनी बसोबास अनुमति नपाएका हजारौँ परिवार यहाँ रहेको र तिनको समस्या समाधान गर्ने गरी काम भइरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ५ : २६ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब