२८ चैत्र २०८२, शनिबार | April 11, 2026

किसानलाई बाली जोगाउनै सकस



ढोरपाटन । बागलुङको जैमिनी नगरपालिका-५ की बिना थापाको हिजोआजको दैनिकी बाँदर धपाउँदै बित्छ । मकैबारी छेउमा घामपानी छेक्नलाई सानो छाप्रो बनाइएको छ । त्यही छाप्रोमा थापाको दिन बित्ने गरेको छ । थापाका साथमा एउटा लट्ठी, थाल र केही काठका टुक्राहरू हुन्छन् । बेलाबेला उनी थाल बजाउँदै चिच्याउँछिन । यसरी चिच्याउँदा बाँदर बारीमा नआउने उनी बताउँछिन ।

“यो थाल र लौरो त मेरो साथमा सधैँ हुन्छ, यहाँ थाल बजाएर हल्ला ग¥यो भने बाँदर बारीमा आएर मकै खान्न, शान्त भएर बस्यो भने एकैछिनमा ५०/६० वटा बाँदरको समूह आएर मकै एकैछिनमा सखाप पार्छ”, थापाले भनिन, “यतिबेला मकैले कोसा हाल्न थालेको छ, बाँदर पस्यो भने त केही बाँकी राख्दैन, सबै च्यातेर नष्ट गरिदिन्छ ।”

अब मकै नभित्र्याउँदासम्म बारीमै बास हुने उनले सुनाइन । एक दशक अगाडिसम्म गाउँमा बाँदर फाटफुट आए पनि हालको जस्तो हुल नै नआएको थापाले स्मरण गरिन । बारीमा गोठालो नबस्ने हो भने गाउँभरिको बारी एकदिनमै सखाप पार्ने अवस्था छ । बाँदर धपाउनका लागि अनेक जुक्ति अपनाए पनि त्यसले काम नगरेपछि हाल दैनिक बारीमै बस्ने गरेको थापाले सुनाइन ।

बिना जस्तै स्थानीय कुलबहादुर थापाले पनि आफ्नो दिन पनि बाँदर धपाउनैमा बित्ने गरेको बताए । खाना खान पनि पालो गरी खानुपर्ने अवस्था रहेको उनले सुनाए । “परिवारमा धेरै सदस्य हुनेलाई सहज भए पनि थोरै हुनेलाई गाह्रो छ । बाँदरका कारण हरेक वर्ष उत्पादन घट्ने गरेको छ । हामीलाई बाँदरले धेरै दुःख दियो । पहिले १२/१५ मुरी मकै फल्थ्यो, हाल बाँदरबाट जोगाउन सकियो भने पाँच÷सात मुरी भित्र्याउने गरेको छु”, थापाले भने ।

हाल जिल्लाका अधिकांश किसानको बारी छेउछाउमा ससाना त्रिपालका छाप्रा देखिन्छन् । छाप्रामा दैनिक एक-दुई जना बाँदर धपाउने कृषक पनि हुन्छन् । बाँदरका कारण गाउँका धेरै स्थानीयले बसाइँसराइ गर्न बाध्य भएको सुनाउँछन् । जैमिनीमा बाँदर आतङ्क बढ्नुको मुख्य कारण बसाइँसराइ रहेको नगर उपप्रमुख हरिहर शर्माले बताए । आफूहरूले बाँदर नियन्त्रणका लागि अघिल्लो वर्षदेखि नै बाँदर पार्क बनाउने गरी योजना बनाएको उनले जानकारी दिए । अब बाँदरबाट प्रभावित किसानलाई पनि राहत दिनेगरी योजना बनाइने उपप्रमुख शर्माले सुनाए ।

काठेखोला गाउँपालिका-१ का नरबहादुर पुनले बर्खामा मात्रै नभएर हिउँदमा पनि बाँदरले दुःख दिने गरेको बताए । घरको आँटीमै पुगेर अन्न खाइदिने र सामान फुटाइदिने गरेको उनको दुखेसो छ । हाल बाँदर मान्छेसँग पनि डराउन छोडेका पुनले सुनाए । “पहिले बाँदर मान्छे देख्यो भने भागिहाल्थ्यो, हाल त उस्तै परे कोपार्न र लड्न आउँछन् । गाउँमा मान्छेभन्दा बाँदरको सङ्ख्या धेरै हुन थाले, छरछिमेकी पनि अब गाउँमा बस्न सकिँदैन भन्दै सहर बजार झरे । हाम्रो बजार झर्ने धन पनि छैन, यहीँ बाँदरसँग लड्दै बस्नुबाहेक अरू विकल्प छैन”, उनले भने ।

जैमिनीबाट पछिल्लो दुई वर्षमा मात्रै ४८२ परिवारका एक हजार ७०९ जनाले गाउँ छोडेका छन् । तथ्याङ्कअनुसार विसं २०८० मा २६३ परिवारका ९४७ जनाले बसाइँसराइ गरेका छन् भने २०८१ मा २१९ परिवारबाट ७६२ जनाले गाउँ छोडेका छन् । दुई वर्षको अवधिमा २६ घरपरिवारका ८६ जना बाहिरबाट जैमिनी आएको नगरपालिकाले जनाएको छ । यस्तै, विसं २०८० मा नौ परिवारका ४२ जना र २०८१ मा १७ परिवारका ४४ जना जैमिनी आएका छन् ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ७ : ४९ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र