नेपालगन्ज । कपिलवस्तुलाई केन्द्र बनाएर डेरी उद्योग संचालन गर्दै आएको ग्लोबल डेरी उद्योगले नेपालगन्जमा आफ्नो उत्पादनको सेवा विस्तार गर्ने भएको छ । आर्थिक वर्षको पहिलो दिन साउन १ गतेबाट नेपालगन्जका डेरी प्रोडक्टका उपभोक्तालाई लक्षित गर्दै बिक्री कक्ष संचालन गर्ने भएको हो ।
बुटवल, काठमाडौं, पोखरा, चितवन लगायको सहरमा बिक्रीकक्ष संचालन गरिसकेको डेरीले पश्चिम नेपालको मुख्य सहर नेपालगन्जमा सेवा विस्तार गर्ने भएको हो । आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै ग्लोवल डेरीका प्रबन्ध निर्देशक जनक न्यौपानेले भोलिबाट नेपालगन्जमा पनि बुद्धभूमि ब्राण्डका दुग्ध तथा दूग्ध जन्य पदार्थहरूको बिक्री एवं वितरण गर्ने कार्य प्रारम्भ हुने जानकारी दिए ।
उनले वार्षिक रूपमा तीन तहका सरकारहरू अरवौं रुपैयाँ कृषि क्षेत्रमा अनुदानको नाममा वितरण गर्दै आइरहेको भएपनि पश्चिम नेपालमा उत्पादित दूग्धलाई सङ्कलन प्रशोधन विविधिकरण र बजारीकरणमा प्रभावकारी नतिजा नदेखिएको बताए । नेपाल सरकारले आगामी दिनमा यस्ता उद्योगहरुलाई प्रोत्साहन गर्न सकेमा खाडी मुलुकमा श्रम बेच्न बाध्य आम युवाहरू स्वदेशमै पशुपालन गरी मनज्ञ आम्दानी गर्न सक्ने उनको धारणा छ । विगत ३० वर्ष देखि दूग्ध ब्यवसाय गर्दै आएपनि आफ्नो कम्पनीले अहिलेसम्म नेपाल सरकारबाट कुनै पनि अनुदान प्राप्त गर्न नसकेको बताए ।
पश्चिम नेपालमा मिल्क होलिडेको पूर्णरूपमा अन्त्य गर्न आफ्नो कम्पनीले कृषकद्वारा उत्पादित दुग्धको सहज बजार पहुँचको लागि विभिन्न चिस्यान केन्द्रहरू, सङ्कलन केन्द्रहरू स्थापना गर्ने कार्य प्राथमिकताका साथ अगाडि बढाउँदै लगिरहेको बताए । उनले देशमा दिनप्रतिदिन जनसंख्या कट्दो अवस्थामा रहेको उल्लेख गर्दै उत्पादनलाई विदेश निर्यात गर्ने लक्ष्य तय गरिएको बताए । हाल जापान र अमेरिकाका केही शहरमा छुर्पी जस्ता दूग्ध उत्पादन पठाउने गरिएको उनले जनाए ।
२०५२ सालदेखि तानसेन पाल्पामा डेरी उद्योग सञ्चालन गरेका थानेश्वर न्यौपानेको अगुवाइमा कमल न्यौपाने र जनक न्यौपाने समेतको मुख्य लगानीमा २०७० साल माघ १९ गते महाराजगञ्ज १ कपिलवस्तु मा दुग्ध संकलन केन्द्रको स्थापना भएको थियो । २०७२ सालमा बुद्धभूमि नगरपालिका वडा नम्बर ९ इमिलियामा मुख्य प्रशोधन केन्द्र स्थापना भई बुद्धभूम्मि ब्राण्डमा विभिन्न प्रकारका दुग्ध एवं दुग्धजन्य पदार्थहरू उत्पादन भई बिक्री वितरण कार्य गर्दै आएको छ ।
कम्पनीले नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, अर्घाखाँची र पाल्पामा गरी जम्मा ८१ वटा संकलन एवं चिस्यान केन्द्र स्थापना गरी कम्पनीले दैनिक ४० देखि ५० हजार लिटर दूग्ध सङ्कलन प्रशोधन विविधिकरण र बजारीकरणको कार्य गर्दै आएको जनाएको छ । वार्षिक करिब १.५ अर्ब रुपैया बजारको पैसा सङ्कलन भई ग्रामीण क्षेत्रमा प्रवाह भइरहेको प्रबन्ध निर्देशक न्यौपानेले बताए ।
कम्पनीले कृषकहरुसँगै निजी दूग्ध सङ्कलन, चिस्यान केन्द्र एवं दुग्ध उत्पादक सहकारी संस्था मार्फत सङ्कलन भइरहेको दुग्ध समेत खरिद गर्दै आइरहेको उनले बताए । उनले कृषकद्वारा उत्पादित दुग्धको ३६५ दिन नै खरिद गर्ने ग्यारेन्टी सहित समयमा दुग्धको भुक्तानी भइरहेको दाबी गरे ।
उनका अनुसार डेरीले कम्पनीले कृषकलाई आवश्यक पर्ने दाना चोकरको व्यवस्था, पशु विमामा सहयोग भ्याक्सिनेसनमा सहयोग एवं सामान्य खालको औषधि उपचारमा समेत सहयोग गर्दै आइरहेको छ । कम्पनीले विगत पाँच वर्षदेखि बाँके र बर्दिया जिल्लाका चिलरिया, मटैया, मिलनचोक, बेतहानी, खजुरा, तमौलीपुर, सितापुर, पचासा, गणेशपुर, ताराताल र राजापुर मा मुख्य चिस्यान केन्द्र स्थापना गरी दूध संकलन कार्य गर्दै आइरहेको छ भने अन्य ३० वटा शाखा दूध संकलन केन्द्रहरू समेत सञ्चालन गरी दूग्ध खरिद कार्य गर्दै आइरहेको छ । जसमा प्रत्यक्ष रुपमा करिब ८ हजार कृषक परिवार बाट उत्पादित दुग्ध संकलन भइरहेको ग्लोबल डेरीले जनाएको छ ।


















प्रतिक्रिया