मिनियापोलिस । अमेरिकाको मिनियापोलिस राज्यको एक चर्चमा सेवा गरिरहेका विद्यालय जाने उमेरका बालबालिकामाथि बुधबार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।
शहरका प्रहरी प्रमुख ब्रायन ओहाराले पत्रकार सम्मेलनमा आक्रमणकारीले चर्चमा गोली प्रहार गरेको पुष्टि गरेका छन । मिडवेस्टर्न राज्य मिनेसोटाको सबैभन्दा ठूलो शहर मिनियापोलिसको एक सम्बद्ध क्याथोलिक विद्यालयको छेउमा उक्त चर्च अवस्थित छ ।
“आठ र १० वर्षका दुई साना बालबालिकाको बेञ्चमा बसिरहेको अवस्थामा मृत्यु भएको थियो”, ओहाराले भने, “१४ बालबालिकासहित १७ जना घाइते भएका छन् ।”
दुई जनाको अवस्था गम्भीर रहेको उनले बताए । बन्दुकधारीले राइफल र पेस्तोल प्रहार गरेपछि पार्किङस्थलमा आत्महत्या गरेको प्रहरी प्रमुखले बताएका छन् । गोली हान्ने व्यक्तिको लामो आपराधिक इतिहास नभएको र उनले एक्लैले काम गरेको अनुमान गरिएको छ । आक्रमणकारी अन्दाजी २३ वर्षको भएको बताइएको छ ।
अनुसन्धानका लागि सङ्घीय विभागका निर्देशक काश पटेलले आक्रमणकारी ‘रोबर्ट वेस्टम्यान’ रहेको बताएका छन । पटेलले एक्समा लेखेका छन, “एफबीआईले क्याथोलिकहरूलाई लक्षित गरी घरेलु आतङ्कवाद र घृणाजन्य अपराधको रूपमा अनुसन्धान गरिरहेको छ ।
वेस्टम्यानले अनलाइनमा पोस्ट गरेको भिडियोमा केही पेज लामो आक्रमणको घोषणा र आक्रमणमा प्रयोग गरिएका हतियारको नाम र चित्र देखाइएको छ । यस आक्रमणको राष्ट्रपति डोनाल्ड ट्रम्पसहित धेरैले निन्दा र दुःख व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले शोकको यस घडीमा ह्वाइट हाउसमा अमेरिकी झण्डालाई आधा झुकाउन निर्देशन दिएका छन ।
क्याथोलिक चर्चको नेतृत्व गर्ने पहिलो अमेरिकी पोप लियो चौधौंले यस घटनाबाट आफू निकै मर्माहत भएको बताएका छन । हेनेपिन काउन्टी मेडिकल सेन्टरमा छ देखि १४ वर्ष उमेर समूहका दुई वयस्क र नौ जना बालबालिकाको उपचार भइरहेको र कम्तीमा चार जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् ।
“मिनेसोटा हृदयविदारक छ,“ गभर्नर टिम वाल्जले एक्समा लेखेका छन । “जवाफ दिने अधिकारीहरू, पादरीहरू र शिक्षकहरूले सान्त्वना दिनेदेखि, अस्पतालका कर्मचारीहरूले जीवन बचाउने सम्म, हामी एकसाथ मिलेर यो अवस्थाबाट पार पाउनेछौं”, उनले भने, “आफ्ना सन्तानलाई प्यार गरौँ । सावधानीपूर्वक रेखदेख गरौँ।”
प्रहरी घेराबाहिरको भिडियो फुटेजमा आत्तिएका अभिभावकहरू हरियो पोलो सर्टको विद्यालय पहिरनमा सजिएका आफ्ना साना केटाकेटीहरूलाई लिएर भागिरहेको देखिन्छ ।


















प्रतिक्रिया