काठमाडौं । सरकारले फेसबुक, ट्विटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार यस्तो निर्णय गरेको हो ।
सरकारले आज (बिहीबार) देखि नै सामाजिक सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिसकेको छ । मन्त्रालयमा बसेको बैठकले सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को निर्णयअनुसार नेपालमा दर्ता नगरेका सामाजिक सञ्जाल तत्काल बन्द गर्ने निष्कर्ष निकालेको स्रोतले जनाएको छ ।
सामाजिक सञ्जालहरूले नेपालमा दर्ताको प्रक्रिया पूरा गरेपछि भने क्रमशः खोल्ने व्यवस्था हुने सरकारको भनाइ छ ।
यसअघि सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्समार्फत प्रसारित हुने विज्ञापनसहितका सामग्रीमाथि बन्देज लगाउन सरकारलाई परमादेश जारी गरेको थियो । साथै, आवश्यक कानुन निर्माण गर्न निर्देशनसमेत दिएको थियो ।
न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले बुधबार सरकारका नाममा आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशअनुसार नेपालभित्र प्रसारण गर्न चाहने कुनै पनि विदेशी प्रसारण संस्था वा डिजिटल प्लेटफर्मले सरकारले तोकेको अनुमति लिनुपर्ने प्रावधान लागू हुनेछ ।
रिट निवेदनमा नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विज्ञापन बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरणलगायत निकायलाई विपक्षी बनाइएको थियो ।



















प्रतिक्रिया