काठमाडौं । मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले सरकारको निर्देशनअनुसार आफ्नो मोबाइल डाटाबाट सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू सञ्चालन नहुने जनाएको छ ।
कम्पनीले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा सरकारले रोक लगाउने निर्णय गरेका २६ वटा सामाजिक सञ्जाल अब एनसेलको नेटवर्कमार्फत प्रयोग गर्न नसकिने स्पष्ट पारिएको छ । यसबाट प्रयोगकर्ताहरूलाई असुविधा हुनसक्ने भन्दै कम्पनीले क्षमा मागेको छ ।
नेपाल सरकारले सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय बनाउने निर्णय गरेपछि दूरसञ्चार सेवा प्रदायकहरूलाई कार्यान्वयन गर्न निर्देशन दिइएको थियो । सोही निर्देशनअनुसार एनसेलले आफ्नो सेवामा प्रत्यक्ष प्रभाव पर्ने जानकारी गराएको हो ।
सरकारको यो कदमप्रति प्रयोगकर्ता र सरोकारवालाबीच समर्थन र आलोचना दुवै भइरहेको छ । केहीले अनियन्त्रित सामाजिक सञ्जाल नियमन गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् भने कतिपयले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भएको भन्दै विरोध जनाएका छन् ।
सूचीकृत भएर दर्ता प्रक्रिया पूरा गर्ने प्लेटफर्महरू भने पुनःसञ्चालनमा आउने व्यवस्था सरकारले गरेको छ ।



















प्रतिक्रिया