बुटवल । श्री नेवा: सेवा समिति बुटवलले मृगौला पीडितहरूलाई खाद्यान्न सहयोग गरेको छ । समितिले शनिबार बुटवल-११ माझगाउँस्थित कार्यालयमा आयोजित कार्यक्रममा करिब एक लाख १५ हजार रुपैयाँ बराबरको चामल, दाल, चिउरा लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले मृगौला सम्बन्धी समस्या नेपाल मात्र नभई विश्वमै तीव्र रूपमा बढिरहेको बताए । उनले प्रत्येक १० जनामा एकजनामा मृगौला सम्बन्धी समस्या देखिने गरेको उल्लेख गर्दै वर्षमा एकपटक स्वास्थ्य परीक्षण गर्न सके गम्भीर अवस्थाबाट जोगिन सकिने बताए । आलमले बिरामीको मनोबल उच्च बनाउन आवश्यक रहेको भन्दै सरकारले गर्नुपर्ने धेरै काम स्थानीय संघ-संस्था गर्दै आएकोमा आभार व्यक्त गरे ।
त्यस्तै, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडासदस्य नहकुल शाहीले कृषिमा अत्यधिक बिषादीको प्रयोगले दीर्घरोगीहरूको संख्या बढेको बताए । समितिका अध्यक्ष डिल्ली कुमार श्रेष्ठले संस्थाले वार्षिक कार्ययोजना अनुसार समुदायमै आधारित कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए ।
मिर्गौला तथा मुटु पीडित सरोकार समाजका अध्यक्ष कृष्ण मल्लले चाडपर्वको समयमा गरिएको सहयोगले पीडितलाई ठूलो राहत मिल्ने बताए । समाजका संस्थापक अध्यक्ष रमेश केसीले खानपान र जीवनशैलीकै कारण मृगौला बिरामीको संख्या बढ्दै गएको बताउँदै रोजगार सिर्जना गरी नियमित आय हुने वातावरण बनाउन स्थानीय तथा संघीय तह सक्रिय हुनुपर्ने सुझाव दिए ।
समितिका सल्लाहकार रामलाल श्रेष्ठले आफू पनि मृगौला रोगसँग जुधेको अनुभव सुनाउँदै दीर्घरोगले शारीरिक मात्र नभई मानसिक पीडा पनि दिने बताए । उनले नेवारी संस्कार, संस्कृति जगेर्नासँगै समाजसेवामा समिति सक्रिय रहेको उल्लेख गरे ।
कार्यक्रममा निवर्तमान अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दलबहादुर श्रेष्ठ, सचिव लक्ष्मण श्रेष्ठलगायतको उपस्थितिमा समितिले सांस्कृतिक संरक्षणसँगै समुदायकेन्द्रित गतिविधिमा निरन्तर काम गर्दै आएको प्रतिबद्धता जनाएको थियो ।


















प्रतिक्रिया