काठमाडौं । जेनजी पुस्ताका युवाले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध सोमबार राजधानीमा प्रदर्शन गर्न लागेका छन् ।
आयोजकले बिहान ९ बजेदेखि माइतीघरमा भेला हुने र ११ बजेतिर मार्चपास गर्दै नयाँबानेश्वरसम्म पुग्ने कार्यक्रम तय गरेका छन् । यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आवश्यक अनुमति लिइसकिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले शान्तिपूर्ण प्रदर्शनमा कुनै रोकावट नहुने बताए । उनले भने, “निषेधित क्षेत्र बाहेकका स्थानमा शान्तिपूर्ण रूपमा कार्यक्रम गर्न पाउने व्यवस्था गरिएको छ ।”
सन् १९९७ देखि २०१२ बीच जन्मिएका युवालाई जेनजी पुस्ता भनिन्छ । केही दिनयता उनीहरूले सामाजिक सञ्जालमार्फत प्रदर्शनका लागि आह्वान गर्दै आएका थिए ।
युवाहरूको आन्दोलनलाई विभिन्न जनप्रतिनिधि र नेताले समर्थन जनाएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफू आन्दोलनको पक्षमा रहेको बताएका छन् भने कांग्रेस नेता शेखर कोइरालाले पनि यो आन्दोलनलाई जायज भनेका छन् ।
यस्तै, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले समेत जेनजी पुस्ताले गर्ने प्रदर्शनमा सहभागी हुने घोषणा गरेका छन् ।



















प्रतिक्रिया