१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

यसरी मनाइयो मध्यपुरथिमिको ऐतिहासिक जिब्रो छेड्ने जात्रा



भादगाउँ । मध्यपुरथिमिमा आश्विन शुक्ल पूर्णिमाको अवसरमा आइतबार मनाइएको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा)ले इतिहासमा पहिलो पटक भक्तपुर नगरको परिक्रमा गरेको छ ।

यसवर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका साहसी संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठको इच्छाअनुसार जिब्रो छेड्ने जात्राले भक्तपुर नगरपालिकामा अवस्थित दत्तात्रय र नवदुर्गाको दर्शन गरी भक्तपुर नगर परिक्रमा गरेको हो । मध्यपुरथिमिमा दुई वटा जिब्रो छेड्ने जात्रा प्रचलनमा रहेको छ । पहिलो बिस्काः जात्राको अवसरमा प्रत्येक वर्ष वैशाख २ गते बोदेमा हुने जिब्रो छेड्ने जात्रा र दोस्रो इन्द्रजात्राको भोलिपल्ट अर्थात आश्विन शुक्ल पूर्णिमाको दिन मनाइने ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ ।

दुवै जात्राको आ-आफ्नै विशेषता रहेको छ । बोदेको जिब्रो छेड्ने जात्रामा एक जनाले मात्र जिब्रो छेडाउने प्रचलन रहेको छ भने यो जात्रा परिक्रमा गरिने निश्चित प्रदिक्षामार्ग (रुट) रहेको हुन्छ । तर थिमिको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’मा जिब्रो छेडाउने व्यक्ति एक जना भन्दा धेरै पनि हुनसक्छ । यो जात्रामा जिब्रो छेडाउन इच्छ््याएको व्यक्ति धेरै भएमा एकजना भन्दा बढीले पनि जिब्रो छेडाउन पाइन्छ । यो जात्राको अर्को विशेषता भनेको जात्राको कुनै निश्चित प्रदक्षिणामार्ग अर्थात रुट नहुनु हो । यो जात्रामा जिब्रो छेडाएका व्यक्तिको इच्छाअनुसारको रुटमा परिक्रमा गराइन्छ । सोही अनुसार गतवर्ष पनि जिब्रो छेडाएका वीरेन्द्रभक्तले काठमाडौंको पशुपतिनाथको दर्शन गरेका थिए भने यसवर्ष भक्तपुरको दत्तात्रय र नवदुर्गाको दर्शन गरी भक्तपुर नगर परिक्रमा गरेको हो ।

साँझ सुरु हुने जात्राको लागि मध्यपुरथिमिमा दिउँसोदेखि चहलपहल बढ्दै गएको थियो । जात्रा सञ्चालनका लागि एक महिना अघि नै कमिनायोले करिब एक फिट लामो सुइरो निर्माण गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेका थिए । यसैगरी राजदरबारको प्रतिनिधिको रुपमा काठमाडौंको हनुमानढोका दरबारबाट राज खड्गसमेत ल्याइएको थियो । जात्राकै लागि थिमिको सिवा साय्मी खलःले याँमता तयार गरेका थिए । जात्राको लागि दिगुलीको प्रचण्ड भैरव अघिको डवलीमा मञ्च तयार गरिएको थियो । जात्रा सुरु गर्न एक समूहले थिमि लाय्कुको पमानायो श्यामकाजी श्रेष्ठलाई परम्परागत पोसाकमा हनुमानढोका दरबारबाट ल्याएको राज खड्गसहित लिएर आए । यही बेला जिब्रो छेडाउन तयार भएका वीरेन्द्रभक्त परम्परागत पोसाकमा सहयोगी समूहको साथमा मध्यपुरथिमि नगरभित्रका देवीदेवतालाई बत्ती दिन गइरहेका थिए ।

बत्ती दिने कार्य सकिएपछि वीरेन्द्रभक्तलाई दिगुलीस्थित डवलीको मञ्चमा ल्याई पु्याएर । वीरेन्द्रभक्त मञ्चमा चढेपछि उपस्थित सर्वसाधारणले जयजयकार गरे । मञ्चमा पुगेर वीरेन्द्रभक्तले सबैलाई दुई हात जोडेर नमस्कार गरे । वीरेन्द्रभक्त मञ्चमा पुगेपछि जिब्रो छेड्ने सुइरो र कमिनायो भने आइपुगेको थिएन । केही बेरको प्रतिक्षापछि निगालोको चिम्ता बजाउँदै एक समूहले सुइरो लिएर आए । त्यसको पनि केही समयपछि मात्र कमिनायो बाबुकाजी कमी श्रेष्ठलाई दिगुलीको डबलीमा ल्याई पु¥याए । त्यसपछि वीरेन्द्रभक्तलाई छोएर बाबुकाजीले वरिपरी अक्षता फूल छर्किएर देवीदेवता पुकारे । एक महिना अगाडि बनाएको एक फिट लामो तीन मुख भएको सुइरोले बाबुकाजीले साँझ ८ बजेर ४० मिनेटको समयमा वीरेन्द्रभक्तको जिब्रो छेडे ।

कमिनायोले सुइरोलाई वीरेन्द्रभक्तले टाउकोमा बाँधेको बेतलीमा अड्काइ दिए । त्यसपछि वीरेन्द्रभक्तले दुई हात जोडेर उपस्थित सर्वसाधारणलाई नमस्कार गर्दै मञ्चमा तीन फन्को लगाए । उपस्थित सबैले पनि वीरेन्द्रभक्तको जयजयकार गर्दै दिगु भैरवको पनि जयजयकार गरे । त्यसपछि दिउँसै तयार गरिराखेको काठ र बाँसले निर्माण गरिएको अर्धचन्द्राकारको महादीप ‘भ्ये’ काँधमा बोकेर वीरेन्द्रभक्त नगरपरिक्रमा गर्न निस्किए । वीरेन्द्रभक्त भन्दा अघि साय्मी समुदायले तयार गरिराखेको त्रिशूल आकारको याँमता लगिएको थियो । हजारौँ स्थानीय पनि वीरेन्द्रभक्तको जयजयकार गर्दै ‘ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्’ भन्दै नगर परिक्रमा गर्न निस्किए ।

वीरेन्द्रभक्तले दिगु भैरव मन्दिर अगाडि जिब्रो छेडेर महादीप काँधमा बोकी दिगु भैरवको परिक्रमा गरे । त्यसपछि निगु पुखुः, लाय्कू हुँदै जात्राको परम्परा अनुसार क्वालाखु ९बालकुमारी०स्थित थास्मा गणेशको दर्शन गरे । जात्राको परम्परा अनुसार जसले जिब्रो छेडाए सबैभन्दा पहिला आफ्नो इष्ट गणेशको दर्शन गर्नुपर्दछ । सोही अनुसार वीरेन्द्रभक्तले थास्मा गणेशको दर्शन गरेका हुन । त्यसपछि बालकुमारी, शङ्खधरचोक, दक्षिण बाराही, सल्लाघारी, चोङ्गा गणेश, सिद्धपोखरी, नःपुखु हुँदैँ राति करिब ११ बजे वीरेन्द्रभक्त हजारौँं श्रद्धालुका साथ भक्तपुर दरबार स्क्वायर पुगेका थिए । चोङ्गा गणेश स्थान पुग्दा स्थानीयले नेवारी परम्परा अनुसार दही सगुन दिएर स्वागत गरेका थिए । भक्तपुरको दूधपाटीमा भक्तपुर नगरपालिका-९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्वले नगरपालिकाको तर्फबाट स्वागत गरेका थिए ।

दरबारस्क्वारमा हजारौँ भक्तपुर नगरवासी वीरेन्द्रभक्तको प्रतिक्षामा थिए । वीरेन्द्रभक्त दरबारस्क्वायर पुगेपछि सबैले तालीको गडगडाहट र कलकल ध्वनीले स्वागत गर्नुका साथै जयजयकार गरेका थिए । वीरेन्द्रभक्तलाई हेर्न बाटोमा लस्करै स्थानीय बसेका थिए । भक्तपुर दरवारस्क्वायरबाट सुकुलढोका हुँदैँ राति ११।३० बजे वीरेन्द्रभक्त दत्तात्रय मन्दिर पुगे । दत्तात्रय मन्दिरलाई तीन पटक परिक्रमा गरी उनी भक्तपुरको नवदुर्गा द्योछें पुगे । त्यहाँ नवदुर्गाको दर्शन गरी पुनः दत्तात्रय, सुकुलढोका हुँदैँ उनी टौमढीस्थित पाँचतल्ले मन्दिर र भैरवनाथको दर्शनका लागि पुगे ।

टौमढीबाट बंशगोपाल, सिद्धिपोखरी, चोङ्गा गणेश, निकोशेरा, नगरपालिका चोक, पाटी बिहार, गुङचिवाः, भीमसेन चोक, गणेश मावि, नगदेश, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भूलाँखेल, चोडे, निगुपुखु हुँदैं आज बिहान करिब ३ बजे बालकुमारीमा पुगेर जात्रा सम्पन्न भएको थियो ।

बालकुमारी परिसरमा थिमि लाय्कूका पमानायो श्यामकाजी श्रेष्ठ र पमा सूर्यलाल श्रेष्ठ वीरेन्द्रभक्तलाई पर्खेर बसेका थिए । पमानायोले वीरेन्द्रभक्तको जिब्रोबाट सुइरो निकालेर बालकुमारी मन्दिरभित्रको काठमा ठोकी दिए र वीरेन्द्रभक्तको जिब्रोमा नित्यनाथको माटो राखेपछि जात्रा सम्पन्न भयो । वीरेन्द्रभक्तले जिब्रो छेडाएको यो चौंँथो पटक हो । उनले पहिलो पटक २०७४ सालमा जिब्रो छेडाएका हुन । करिब लोप हुने अवस्थामा पुगेको यो जात्रालाई जिवन्तता दिन त्यतिखेर उनी जिब्रो छेडाउन तयार भएका हुन । उजले दोस्रो पटक २०७९ मा जिब्रो छेडाएका थिए, भने तेस्रो पटक गत वर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन ।

विसं २०८० मा भने मध्यपुर थिमि-५ का बालकराम नानिचा श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । थिमिको इतिहास, परम्परा र संस्कृतिलाई जीवन्त राख्न आफूले जिब्रो छेड्न तयार भएको वीरेन्द्रभक्तले बताए । “मध्यपुर थिमि जीवन्त कला संस्कृतिको धरोहर हो । यहाँको यही धरोहरलाई विश्वसामु चिनाउन जिब्रो छेडाउन तयार भएको हुँ । यसले मध्यपुरथिमिको पहिचान दिलाउन सफल हुन्छ भन्ने विश्वास लिएको छु,” उनले भने । उनले गतवर्ष पशुपतिनाथको दर्शन गरेको र यसवर्ष दत्तात्रय र नवदुर्गाको दर्शन गर्ने इच्छाभएकाले भक्तपुर गएको बताए ।

यो जात्राको इतिहासमा दिगुलीमा जिब्रो छेडेर बालकुमारीमा आइ सम्पन्न भएको र जिब्रो छेडेर काभ्रे पनौती, भक्तपुरको चाँगुनारायण मन्दिर र पश्चिममा पशुपतिनाथ मन्दिरसम्मको यात्रा गरेको इतिहास भए पनि दत्तात्रय र नवदुर्गा मन्दिरको दर्शन गरी भक्तपुर नगरपरिक्रमा गरेको इतिहासमा पहिलो भएको पमानायो श्यामकाजी श्रेष्ठले बताए ।

‘जात्रालाई पर्यटन प्रवद्र्धनसंग जोड्न आग्रह ’

पहिलो पटक प्रत्यक्षरुपमा जिब्रो छेडेको हेर्न मध्यपुर थिमिको दिगुली पुगेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जात्रा अत्यन्त मौलिक र अलौकिक पाएको बताए । उनले जिब्रो छेडाउनु नै साहसी कार्य भएको जनाउँदै यस्तो साहसी कार्यलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताए । उनले स्थानीय जनप्रतिनिधि र जात्रा व्यवस्थापन समिति यस्तो जात्रालाई पर्यटनसँग जोडेर लैजान आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बागमती प्रदेशका पर्यटन तथा संस्कृतिमन्त्री सुरेश श्रेष्ठले अन्यत्र कहीँ पनि नभएको अलौकिक जिब्रो छेड्ने जात्रा नेपालको मौलिक संस्कृतिमध्ये एक भएको बताउँदै यसको संरक्षण, प्रवद्र्धन र निरन्तरताको लागि बागमती प्रदेश सरकारले प्रत्येक वर्ष रु दुई लाख दिने निर्णय गरेको जानकारी गराए ।

जात्रा अवलोकन गर्न प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नमराज घिमिरे, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीसमेत मध्यपुरथिमि आएका थिए ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले गत वर्ष पशुपति पुग्नुभएका वीरेन्द्रभक्तले यसवर्ष भक्तपुर नगरपरिक्रमा गरेर यो जात्राको प्रचारप्रसारका लागि ठूलो योगदान दिनुका साथै ऐतिहासिक कार्य गरेको बताए ।

दिनभरी मौन व्रत लिई, जिब्रो छेडेर ४० किलो भन्दा बढी वजनको भ्ये बोकेर घण्टौँसम्म खाली खुट्टा पैदल हिँड्नु आफैंँमा साहसी कार्य भएको र एउटा दैवीशक्ति नै भएको उनले बताए । उनले वीरेन्द्रभक्त जस्ता साहसी युवाहरुको प्रेरणाले अन्य युवा पनि जात्रालाई निरन्तरता दिन तयार हुने विश्वास व्यक्त गर्दै जात्राको निरन्तरताका लागि नगरपालिकाले आवश्यक सहयोग गरिरहेको बताए ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले यो जात्रा मध्यपुरथिमिको मौलिक सम्पदा भएको बताउँदै यसलाई पर्यटनसँग जोडेर लैजाने प्रयास नगरपालिकाले गरिरहेको बताए । यसरी जात्रा गर्नाले मध्यपुरथिमि क्षेत्रमा भूतप्रेतले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ । पौराणिक कथन अनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दालाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले दुःख दिन थालेपछि थिमिका जनतालाई सो दुःखबाट छुटकारा दिलाउन थिमिका आराध्यदेवी बालकुमारीको साधना गरेपश्चात आश्विन शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई नातुले जिब्रो छेडाएर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरु यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरु रहेको जनाउँदै भागेको जनश्रुति रहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ८ : २१ बजे

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा