काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको प्रदर्शन हिंसात्मक बनेको छ । अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ ।
राजधानीस्थित निजामती अस्पतालमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने त्यहाँ करिब एक सयभन्दा बढी घाइते उपचाररत छन् । त्यस्तै, वीर अस्पतालको ट्रमा सेन्टरमा करिब ३० जना घाइतेको उपचार भइरहेको छ, जसमा केहीको अवस्था गम्भीर छ ।
प्रहरीको गोली लागेर घाइते भएपछि प्रदर्शनकारी आक्रोशित बनेका छन् । बानेश्वर क्षेत्रमा प्रहरीले अन्धाधुन्ध अश्रुग्यास प्रहार गरेको छ। दमनपछि सो क्षेत्र तनावग्रस्त बनेको छ ।
स्थिति नियन्त्रणमा लिन काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ । मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्मका लागि बानेश्वर, सिंहदरबार र राष्ट्रपति निवास आसपासका क्षेत्रमा कर्फ्यू लगाइएको हो ।
तर, कर्फ्यूको अवज्ञा गर्दै युवाहरूले प्रदर्शन जारी राखेपछि प्रहरीले थप बल प्रयोग गरेको छ ।



















प्रतिक्रिया