काठमाडौं । जेनजी आन्दोलन र नेपाली सेनाबीच आज वार्ता हुने भनिए पनि प्रक्रिया र नेतृत्व विवादले अन्योल कायमै छ ।
बुधबार जंगी अड्डामा वार्ता प्रयास भए पनि जेनजी समूहले नेतृत्वमा कसलाई अघि सार्ने भन्ने विवादका कारण छलफल स्थगित भएको थियो । एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई वार्ता टोलीको नेतृत्व दिनुपर्ने बताउँदा, अर्को समूह हर्क साम्पाङको नाम लिएर पुगेका थिए ।
जेनजीबीच सहमति नजुटेपछि नेपाली सेनाले बिहीबार मात्रै औपचारिक छलफल गर्न सकिने भन्दै “ग्रुप लिडर” एकजनाको नाम र नेतृत्व टोलीको सम्पर्क नम्बर लिएर आउन आग्रह गरेको थियो ।
यसैबीच, जेनजी आन्दोलनले सुशीला कार्कीलाई औपचारिक रूपमा अगाडि सार्ने निर्णय गरेको छ । काठमाडौं महानगरका मेयर बालेन शाहले पनि कार्कीप्रति समर्थन व्यक्त गरेका छन् ।
कार्कीले जेनजीको प्रस्तावलाई सकारात्मक रूपमा लिएको भए पनि प्रक्रियागत जटिलताबारे प्रश्न उठाएकी छन् । उनका नजिकका स्रोतका अनुसार, संसद् विघटन नभइसकेको र दलहरू विद्यमान रहँदा जंगी अड्डामा वार्ता गर्नु कानुनी दृष्टिले उपयुक्त हुन्छ कि हुँदैन भन्ने अन्योल कायमै छ ।
त्यसैले आज नै नेपाली सेना र जेनजीबीच औपचारिक वार्ता हुने वा नहुने निश्चित भइसकेको छैन ।



















प्रतिक्रिया