काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादवसहितका ६ जना शीर्ष नेताले अध्यक्ष डा. सीके राउतलाई २४ घण्टाभित्र पदत्याग गर्न माग गरेका छन् ।
उनीहरूले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पत्रमार्फत् नेतृत्व परिवर्तन अपरिहार्य भएको भन्दै २४ घण्टाभित्र स्वेच्छिक राजीनामा दिन माग गरेका हुन् ।
पत्रमा भनिएको छ, “पार्टीको समग्र हित, राजनीतिक विश्वसनीयता र जनआस्थाको पुनःस्थापनाका लागि अध्यक्ष डा. चन्द्रकान्त राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतज्यूले तत्काल पद खाली गर्नु आवश्यक छ । त्यसैले हामी पार्टीका जिम्मेवार पदाधिकारीको हैसियतले २४ घण्टाभित्र राजीनामा दिन अनुरोध गर्दछौँ ।”
नेताहरूले देशमा व्याप्त भ्रष्टाचार, नातावाद, कृपावाद र परिवारवादविरुद्ध भदौ २३ र २४ गते जेनजी युवापुस्ताले सञ्चालन गरेको आन्दोलनले ऐतिहासिक मोड ल्याएको भन्दै पार्टी नेतृत्वले त्यसअनुरूप काम गर्न असफल भएको आरोप लगाएका छन् ।
पत्रमा भनिएको छ, “पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णयमा पारदर्शिताको अभाव र जनभावनासँग विपरीत क्रियाकलापहरूले पार्टीलाई आफ्नो मूल उद्देश्य र विचारअनुसार अघि बढ्न अवरुद्ध गरेको छ ।”
अध्यक्ष राउतको राजीनामा माग्ने पत्रमा वरिष्ठ उपाध्यक्ष खान, प्रवक्ता यादव, जनमत युवा संघका केन्द्रीय संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बल रहेकाछन् ।


















प्रतिक्रिया