१५ चैत्र २०८२, आइतबार | March 29, 2026

जेनजी प्रदर्शनमा भएको ध्वंसबाट बनेपा नगरपालिकामा १० करोडको क्षति



काभ्रे । गत भदौ तेस्रो साता भएको ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड एवं आगजनीबाट बनेपा नगरपालिमा करिब रु १० करोडबराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । नगर कार्यालयले गरेको प्राविधिक मूल्याङ्कनमा उक्त रकमबराबरको क्षति भएको जनाइएको हो ।

प्रदर्शनका क्रममा नगरको तीनतले मुख्य प्रशासनिक भवन, योजना शाखा र प्राविधिक शाखा रहेको भवन पूर्ण रूपमा क्षति भएको नगरले जनाएको छ । नगरको मूल्याङ्कनअनुसार तीनतले प्रशासनिक भवनको पहिलो तलामा रहेको सभाहल, प्रशासकीय अधिकृतको कार्यकक्ष, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, प्रशासन, सहकारी तथा सामुदायिक विकास, राजस्व, जिन्सी, दर्ता चलानी शाखा, पुरुष र महिला शौचालय तथा शाखाका कार्यकक्षभित्र रहेका महत्त्वपूर्ण अभिलेख तथा दस्तावेज पूर्ण रूपमा नष्ट भएको छ । विसं २०४३ मा निर्माण भएको उक्त मुख्य भवनको ह्रासकट्टीसहितको प्राविधिक मूल्याङ्कनमा रु पाँच करोड ४२ लाख ५४ हजार ४८७ क्षति भएको जनाइएको हो ।

त्यसैगरी, दोस्रो तलामा रहेका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, गोप्यकक्ष, सचिवालय कक्ष, न्यायिक समितिको इजलास कक्ष, कानुन, शिक्षा, लेखा शाखा र दुईवटा शौचालय जलेर पूर्ण रूपमा नष्ट भएको पूाविधि मूल्याङ्कनमा उल्लेख गरिएको छ । यस्तै तेस्रो तलामा रहेको आन्तरिक लेखा परीक्षण, जिन्सी गोदाम कक्ष र लेखा शाखाका सबै अभिलेख रहेको कक्षसहित सबै सामग्री जलेर नष्ट भएको जनाइएको छ ।

योजना र प्राविधिक शाखा रहेको भवनका सबै शाखा तथा कार्यकक्ष र त्यहाँका सम्पूर्ण सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन् । सुरक्षा गार्ड र स्तनपान कक्ष रहेको भवनभित्रका सबै शाखा पनि जलेर नष्ट भएको उल्लेख गरिएको छ । मिनीट्रक रु ४९ लाख ५० हजार, तीन ट्याक्टरको रु ४५ लाख, एक टिपरको रु २५ लाख ९० हजार, एक मोटरसाइकलको रु एक लाख ४२ हजार ९००, दुई कारको रु २३ लाख, एक जीपको रु पाँच लाख आठ हजार २६८, पाँच साइकलको रु ५० हजार क्षति भएको छ । डेक्सटप कम्प्युृटर सेट ४४, ल्यापटप १६, ट्याबलेट १४, २१ मोबाइल, ५३ प्रिन्टर, डिजिटल क्यामेरा तीन, भिडियो क्यामेरा एक, टेलिभिजन तीनलगायत ६१ प्रकारका सामानको मूल्य रु आठ करोड २२ लाख ४९ हजार ५३१ बराबरको क्षति भएको उल्लेख छ ।

त्यस्तै, खर्च भएर जाने एक सय ४९ प्रकारका जिन्सी सामान जलेकामा रु १४ लाख ६० हजार क्षति भएको जनाइएको छ । विपद् प्रकोप व्यवस्थापनसम्बन्धी सम्पूर्ण सामग्री, सहरी तथा वातावरणीय सुधार परियोजनाका सामग्री तथा पुरातात्विक सामानसमेत पूर्ण रूपमा जलेर नष्ट भएका छन् । पुरातात्विक सामान पितलको कोपडा, चार धलौटका घण्टी, सिला भएको सूर्यनारायणको मूर्ति, ढुङ्गाको शिलापत्र, ढुङ्गाको मुखुण्डो, धलौटको सिनमुलगायत सामग्री चोरी भएको उल्लेख गरिएको छ ।

नगर कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्नको पहिचान गरी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई लिखित जानकारी गराएको नगरप्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो । हाल बनेपा १० नं वडा कार्यालयमा नगर कार्यालय व्यवस्थापन गरी सेवा प्रवाह गरिएको छ ।

प्रदर्शनका क्रममा काभ्रेमा विभिन्न १८ सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याइएको छ । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी तथा लुटपाट गरी क्षति पुर्याइएको हो । ‘जेनजी’ आन्दोलनका क्रममा यहाँका चार जनाले काठमाडौँमा ज्यान गुमाएका छन् ।

 

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ९ : ०३ बजे

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण मुद्दाको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

काठमाडौं । इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर