बुटवल । सरकार मातहतको वायुसेवा नेपाल वायुसेवा निगले सोमबार काठमाडौँ-भैरहवा-काठमाडौँ उद्धार उडान गर्ने भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा नागरिक उड्यान प्राधिकरणले निगमलाई चार्टर उडान अनुमति दिएसँगै निगमले भैरहवामा अलपत्र यात्रुको उद्धारका लागि उडान गर्न लागेको हो।
निगमको ए३२० विमान दिउँसो १ बजे काठमाडौँबाट भैरहवा उड्ने र भैरहवाबाट काठमाडौँका लागि २ बजेर ४५ बजे यात्रु बोकेर फर्कने छ । काठमाडौँबाट भैरहवा जाँदा निगमले ५ हजार रूपैयाँ र भैरहवाबाट काठमाडौं उड्दा ७ हजार रूपैयाँ भाडा तोकेको छ।
यस मानवीय उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुहरूलाई विशेष प्राथमिकतामा राखिने निगमले प्रकाशित गरेको बिज्ञप्तिमा उल्लेख छ । साथै उडानमा यात्रा गर्न चाहने यात्रुले अनलाइनबाट पनि टिकट काट्न उक्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ।
यसबाहेक निगमको कार्यालय वा आधिकारिक एजेन्सीहरूमार्फत पनि सिट सुनिश्चित गर्न सकिने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भैरहवामा अहिले करिब ७ सय यात्रु हवाई टिकट नपाएर अलपत्र परेको खबर सार्वजनिक भएसँगै निगमले उडान भर्ने सूचना सार्वजनिक गरेको हो । नवरपरासीभन्दा पूर्वतर्फ शुक्रबारदेखि अधिक वर्षा भएको र स्थलमार्गहरू अवरूद्ध रहेको कारण पनि भैरहवामा यात्रुको चाप बढी भएको हो। उता भरतपुर विमानस्थलमा यात्रेको चाप बढी भएपछि स्थानीय प्रशासनले नै विमानस्थलबाट बसको व्यवस्था गरि काठमाडौं जाने यात्रुहरु पठाएको थियो ।
मौसमकै कारण शनिबार दिनभर उडान हुन सकेको थिएन।




















प्रतिक्रिया