काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य समस्या देखिएपछि शनिबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
शीतल निवासमा जेनजी प्रतिनिधिसँगको वार्ताका क्रममा एक्कासी टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई तत्काल अस्पताल लगिएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिएका छन् ।
स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूको सल्लाहअनुसार राष्ट्रपति पौडेललाई केही दिन अस्पतालमै विश्राम गराइने भएको छ। यस कारण जेनजी प्रतिनिधिसँगको वार्ता सोमबारका लागि सारिएको प्रेस संयोजक कार्कीले बताए ।
शनिबार वार्ताको तयारी भइरहेका बेला राष्ट्रपति कार्यालय अगाडि केही जेनजी कार्यकर्ताले असन्तुष्टि जनाउँदै नाराबाजी समेत गरेका थिए ।
यसअघि राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्री सुशीला कार्की र विभिन्न दलका प्रतिनिधिसँग फागुन २१ गते हुने निर्वाचनबारे छलफल गर्दै आवश्यक तयारी गर्न सुझाव दिएका थिए ।



















प्रतिक्रिया