२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

बीउ बिक्रीबाट किसानको आम्दानी वृद्धि



सुदूरपश्चिम । कैलालीको गोदावरी नगरपालिका—८ का किसान बुद्धिराम चौधरी गुणस्तरीय बीउ बिक्रीबाट आम्दानी बढ्न थालेपछि बीउ खेतीमै रमाइरहेका छन् । गुणस्तरीय बीउ तयार पार्न बीउ कम्पनीको प्राविधिक सहयोगमा उनको खेतमा यतिबेला गरिएको हर्दिनाथ —६ र सर्जू—५२ जातको धानखेती सप्रेको छ । उनी गहुँको मूलबीउ पनि उत्पादन गर्दै आएका छन् ।

वार्षिक प्रतिकठ्ठा रु एक हजार पाँचसयमा अढाई बिघा जग्गा भाडामा लिई मूल बीउका लागि खेती गर्दै आएका उनले भने, “गुणस्तरीय बीउ उत्पादनमा मेहनत, सिँचाइ, मलखाद, खनजोत लगायतको लागत खर्च कटाएर वार्षिक रु तीन देखि चार लाख बचत भइरहँदा सन्तुष्ट छु,, अझैँ थप जग्गा भाडामा लिएर बिजवृद्धि गर्ने लक्ष लिएको छु ।”

जिल्लाको पूर्वी क्षेत्र जानकी गाउँपालिकाको मुनुवा गाउँका विजयकुमार कठरिया पछिल्ला वर्षमा कैलाली जिल्ला धान र गहुँको गुणस्तरीय बीउ उत्पादनमा आत्मनिर्भर बनेको बताउँछन्। उहाँले आफ्नो तीन बिघा जग्गामा यतिबेला सर्जु—५२ र चैते—५२ जातको धानबालीको बिजवृद्धि गरिरहेका छन् ।

बिजवृद्धि सहकारी संस्था, मुनुवाका अध्यक्षसमेत रहनुभएका कठरियाले भने, “बिजवृद्धि कार्यक्रममा समेटिएका किसानले उत्पादन गरेको विभिन्न बालीको बीउ सहकारी संस्थाले खरिद गरिदिँदा किसानले उचित मूल्य पाएर उनीहरुको आम्दानी वृद्धिमा सहयोग मिलेको छ, बिजवृद्धिमा लागेका किसानको सहुलियत मूल्यमा पाकेको बालीको थ्रेसिङ गर्ने, खेतको खनजोत गर्ने जस्ता सहयोग पनि संस्थाले उपलब्ध गराइरहेको छ ।”

सहकारी संस्था र बीउबिजन कम्पनीले बिजवृद्धिमा लागेका किसानको बीउ सरकारले तोकेको मूल्य भन्दा बढी मूल्यमा खरिद गरी बजारमा बिक्रीका लागि पठाउने गर्छन् । “देशमा कृषि क्रान्ति गर्नुपर्छ भनेर किसानलाई उठाउने अभियानमा हामी लागेका र्छौ” कठरियाले भने, “जिल्लामा उत्पादन भएको गहुँ, धान, दलहन र तेलहनको गुणस्तरीय बीउ सर्लाही, सप्तरी, सुर्खेत, पाल्पा जिल्लाबाट माग आउँदा बिजवृद्धिमा लागेकाहरुमा हौसला मिलेको छ ।”

किसानले बिजवृद्धिबाहेक आफ्नो घरायसी उपभोगका लागि पनि खाद्यानको खेती गर्दै आएका छन् । बिजविद्धि सहकारी संस्था मुनुवामा समेटिएका किसानले एक सय हेक्टर जग्गामा बिजवृद्धि गरिरहेका छन् । बिजवृद्धिमा लाग्दा कृषि उपजको उचित मूल्य पाइरहेको भए पनि समयमै मलखादको अभावको समस्या झेल्नु परेको किसानले बताएका छन् ।

कैलाली जिल्लामा वर्षभरिमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको गुणस्तरीय बीउ आवश्यकता पर्ने गरेकोमा उक्त परिमाण भन्दा बढी बीउ उत्पादन भइरहेको छ । गहुँको उन्नत बीउ उत्पादनको हकमा कैलाली जिल्ला देशमै पहिलो स्थानमा छ” कृषि निर्देशनालय दीपायलका निर्देशक खगेन्द्रप्रसाद शर्माले भने, “गहुँ र धानको गुणस्तरीय बीउ उत्पादनमा जिल्ला आत्मनिर्भर भइसकेको छ ।”

जिल्लामा झण्डै ७२ हजार ५०० हेक्टर जग्गामा बर्खे धानखेती र ३५ हजार हेक्टरमा गहुँखेती हुने गरेको छ । कतिपय क्षेत्रमा बर्खे धान र चैते धान गरेर वर्षमा दुई पटक धानखेती हुने गरेको छ । प्रति हेक्टरमा धानखेती गर्न ५० किलो र गहुँखेती गर्न १२० किलो गुणस्तरीय बीउ आवश्यक पर्ने कृषि प्राविधिको भनाइ छ ।

सरकारी स्वामित्वको बीउबिजन कम्पनीले उन्नत बीउको उत्पादन र बिक्री गर्दै आएकोमा पछिल्ला वर्षमा सहकारी संस्था, निजी बीउबिजन कम्पनी, र किसान समूहलेसमेत गुणस्तरीय बीउ उत्पादन गर्दै आएका छन् ।

कतिपय बीउ कम्पनीले सरकारबाट अनुमति लिएर धान र मकैमा हाइब्रिड उत्पादनसमेत गर्न थालेका छन् । खाद्यान्ह बालीको उत्पादन र उत्पादकत्व बढाउन नयाँ जातको बीउकोे विकास भएको मात्र नभइ खेती गर्न नयाँ–नयाँ प्रविधिसमेत भित्रिन लागेकोले खेती गर्दा लागत खर्चपनि घटेको बताइन्छ । घरमै राखिएको स्थानीय जातको बीउको प्रयोग गर्दाको तुलनामा उन्नत बीउको प्रयोगले धान र गहुँबालीको उत्पादकत्व पनि वृद्धि भइरहेको छ ।

पञ्चशक्ति सिड कम्पनी धनगढीका प्रमुख विष्णुराज बुर्लाकोटी जिल्लामा उत्पादन भएको बढी परिमाणमा गहुँ र मकैको बीउ जिल्ला बाहिर जाने गरेको बताउँछन्।

उन्नत बीउको प्रयोग बढेसँगै रैथाने जातको कालो धान, आइरेट, गुर्रा, राइमनुवा, सौंटेरी जस्ता धानको बीउ भने हराउन थालेको किसानको भनाइ छ । कृषि प्राविधिक स्थानीय जातको बीउ प्रयोग गर्दा हुने उत्पादकत्वको तुलनामा उन्नत जातको बीउ प्रयोगले २० देखि २५ प्रतिशतले उत्पादकत्व वृद्धि हुने गरेको बताउँछन् ।

बालीको उत्पादकत्व वृद्धि भइरहेको भए पनि नेपालमा बर्सनि ठूलो परिमाणमा खाद्यान्ह विदेशबाट आयात भइरहेको तथ्याङ्क छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १० : ०२ बजे

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

‘एमआरपी’ र ‘लेबल’ अनिवार्य गर्न निर्देशन

काठमाडौँ । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य