काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि पहिलो पटक सानेपा पुगेर सम्बोधन गरेका छन् ।
जेन–जी आन्दोलनका क्रममा आफ्नै बूढानीलकण्ठस्थित निवासमा आक्रमण र कुटपिटमा परेका देउवाले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा लिखित सम्बोधन गर्दै तत्काल सभापति पद नछाड्ने घोषणा गरेका हुन् ।
देउवाले भने, “मंसिरमा हुने भनिएको १५औँ महाधिवेशनबाट मात्र नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नेछु । अहिले उपचारका लागि सिंगापुर जान लागेकाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेको छु।”
उनले जेन–जी आन्दोलनका क्रममा देखिएका हिंसात्मक घटनाले देशलाई नै स्तब्ध बनाएको बताउँदै त्यसलाई नेपालको इतिहासकै डरलाग्दो अध्याय भनेका छन् । “राष्ट्रपतिको कार्यालयदेखि विभिन्न मन्त्रालय, अदालत, प्रहरी कार्यालय र सञ्चार गृहसम्म आक्रमण भयो । यो नेपालको इतिहासकै डर लाग्दो घटना हो,” देउवाले भने ।
देउवाले ती घटनाको निष्पक्ष र निस्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै दोषीमाथि कडा कानूनी कारबाही गर्न आग्रह गरे ।
त्यसैगरी उनले संकटको समयमा राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको परिपक्व नेतृत्वको प्रशंसा गर्दै भने, “राष्ट्रपति पौडेलको विवेकपूर्ण र जिम्मेवार भूमिकाले मुलुक ठूलो दुर्घटनाबाट जोगिएको हो।” तर देउवाले ‘जेनजी’ प्रदर्शनपछि गरिएको प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक’ भएको पनि बताए । उनले प्रतिनिधिसभा विघटन अलोतान्त्रिक भएको समेत जनाए ।
“संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ । जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ,” सभापति देउवाले भने ।
जेन–जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक रूपमा देखिएका देउवाले आफ्नो सम्बोधनमार्फत पार्टी एकता, स्थायित्व र लोकतान्त्रिक मूल्यको रक्षा गर्न सबैलाई आह्वान गरेका छन् ।
बैठकमा देउवाको सम्बोधनको पूर्णपाठ :


















प्रतिक्रिया