काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सरकारबाट केही समयका लागि हटाइएकै कारण सधैंका लागि सत्ताबाट बाहिरियो भन्ने भ्रममा नपर्न चेतावनी दिएका छन्।
ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकलाई बुधबार सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।
ओलीले देश हाल प्रतिक्रान्तितर्फ धकेलिँदै गएको उल्लेख गर्दै त्यस अवस्थालाई रोक्न एमालेले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।
‘देश बर्बादीतर्फ धकेलिएको छ,’ उनले भने, ‘अब हामीले लोकतान्त्रिक, जनपक्षीय, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र विकासमुखी बाटोतर्फ देशलाई फर्काउनुपर्नेछ।’
अध्यक्ष ओलीले नेकपा एमाले देशको कम्युनिस्ट आन्दोलनको मुख्यधारा रहेको उल्लेख गर्दै पार्टीका नीतिहरू राम्रो भएकै कारण निरन्तर प्रहारको निसानामा परेको दाबी गरे।
उनका अनुसार, सरकारमा रहँदा एमालेले जनहितका नीति र कार्यक्रम अघि सारेको थियो। ‘हामी सरकारबाट हट्यौं, त्यो अस्थायी हो। कसैलाई मान्छे मन नपर्नु वा पार्टी मन नपर्नु बेग्लै कुरा हो,’ उनले भने, ‘तर देशका लागि नेकपा एमाले अपरिहार्य छ। एकछिनको परिवर्तनले हामी सधैंका लागि हट्यौं भन्ने भ्रम पाल्न आवश्यक छैन।’
ओलीले सरकारमा रहँदा कतिपय समयमा आफ्नै पार्टीका नेताहरूबाट पनि विरोध सामना गर्नुपरेको बताएका छन्। संविधान जारी भएदेखिनै एमालेलाई सरकारमा आउन नदिने षड्यन्त्र चल्दै आएको दाबी गर्दै उनले भने, ‘हामीलाई किन निसाना बनाइन्छ रु किनभने हामीले खराब काम गरेका होइनौं, बरु राम्रा नीति अवलम्बन गरेका हौं।’
उनले अन्त्यमा एमाले देश र जनताको हितमा निरन्तर अग्रसर रहने दृढता व्यक्त गरे।


















प्रतिक्रिया