४ चैत्र २०८२, बुधबार | March 18, 2026

प्रधानमन्त्री कार्कीले कलाकारसँग भनिन्– ‘दुष्प्रचार चिर्नका लागि भूमिका खेलिदिनुहोस्’



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सबैको साथ आवश्यक भएको बताएकी छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा कलाकारहरूसँगको भेटमा उनले भनिन्, “समाजमा तपाईँ कलाकारहरुको प्रभाव छ, सामाजिक सञ्जालतिर भइरहेको दुष्प्रचार चिर्नका लागि तपाईँहरूले पनि भूमिका खेलिदिनुहोस् । हाम्रा केही कमी कमजोरी भए पनि औँल्याइदिनुहोस् । तर, असल नियतले काम गर्दागर्दै कसैले गाली गर्छ भने त्यस्ता गालीसँग डराउँदैनौँ, हाम्रो उद्देश्य र लक्ष्यमा हामी स्पष्ट छौँ ।”

कलाकारहरूले पनि प्रधानमन्त्री कार्कीलाई गलत सूचना र प्रोपोगान्डाबाट नडराई सङ्कल्पअनुसार अघि बढ्न सुझाव दिएका छन् ।

उनीहरुले भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिए । “सरकारसँग हामी केही माग्न आएका होइनौँ, यो देश रहेमा माग्ने कुरा माग्दै गरौँला, पहिला यो देश बचोस् । यसका लागि सरकारले खुट्टा बलियो गरी टेकेर अघि बढोस्”, कलाकारहरुले भने ।

मुलुकको पहिलो महिला प्रधानन्यायाधीशका रूपमा काम गरेपछि पनि कठिन परिस्थितिमा मुलुकको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीप्रति उनीहरूले कृतज्ञता पनि प्रकट गरे ।

“अब के पो हुन्छ भनेर हामीलाई डर लागिरहेका बेला सम्हाल्न हजुर आउनुभएको छ”, अभिनेतृ ऋचा शर्माले भनिन्, “हामीलाई ढुक्क भएको छ । यहाँको सरल, सादगीपूर्ण र स्पष्टवक्ता शैलीका कारण पनि भरोसा जागेको छ । अब मुलुक सही दिशामा अघि बढ्नेमा हामीलाई विश्वास छ ।”

परिवर्तन नरुचाएका तत्वहरूले गृहमन्त्री ओमप्रकाश अर्यालसहित यो सरकारलाई विवादमा तान्न खोजेको उनीहरुको दाबी थियो । त्यसका लागि लागि सामाजिक सञ्जालमा भइरहेको दुष्प्रचारका विषयमा उनीहरुले चासो व्यक्त गरेका थिए ।

अभिनेता विपिन कार्कीले भने, “गृहमन्त्रीज्यूका केही दिनका अभिव्यक्तिले सरकार डराएको छैन भन्ने अनुभूति हामीलाई भएको छ, सरकारप्रति थप विश्वास र आशा जागेको छ । अझै सरकार दरिलो रहेछ भन्ने अनुभूति गर्न पाऊँ ।” गृहमन्त्रीले कानुनको शासनका पक्षमा देखाएको अडान र विपद् व्यवस्थापनमा खेलेको भूमिकाको सराहना गर्दैै उनीहरूले देशमा सरकार छ भन्ने कुराको अनुभूति भएको बताए ।

अभिनेता निश्चल बस्नेतले भने, “आफू सही धरातलमा छु भन्ने लागेको छ भने कसैसँग डराउनुपर्दैन, ढुक्कसँग अघि बढ्नुहोस् । तपाईँको पक्षमा हामी छौँ । देशलाई थप अफ्ठ्यारो आउन नदिन यतिखेर राष्ट्रिय एकताको खाँचो छ । सरकारलाई सहयोगको खाँचो छ र यतिखेर सकारात्मकताको खाँचो छ ।”

साहित्य र कलाले आलोचनात्मक चेत बोक्ने भए पनि अहिले तटस्थ नागरिक सरकार रहेको र पूर्वप्रधानन्यायाधीशदेखि समाजका प्रतिष्ठित, विज्ञ, विशेषज्ञहरू मन्त्रिमण्डलमा सामेल भएका कारण पनि कम्तीमा विगतमा जस्तो बेथितिको संरक्षण हुने छैन भन्ने विश्वास पनि उनीहरूले व्यक्त गर्नुभयो ।

सङ्गीतकार कालीप्रसाद बाँस्कोटाले भने, “समाज भड्काउन सजिलो छ, सम्हाल्न गाह्रो छ, अहिले भड्काउन खोज्नेहरू बढी देखिएका छन्, त्यस्ता तत्वहरूप्रति सचेत रहँदै सम्हाल्ने र सम्हालिने समय हो यो ।” वर्तमान सरकारलाई बदनाम र कमजोर बनाउँदै अस्थिरताको लाभ लिन खोज्नेहरूले नियोजित रूपमा चलाइरहेका अभियानलाई निस्तेज बनाउन जेनजी युवादेखि परिवर्तन पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि सर्जकहरूले औँल्याए ।

त्यस अवसरमा कलाकार तथा सर्जकहरु विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, ऋचा शर्मालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ९ : ५३ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन