काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं समाजवादी मोर्चाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पार्टी एकताका विषयमा विभिन्न संचार माध्यम र सामाजिक सञ्जालमार्फत फैलाइएका समाचारहरूमा कुनै सत्यता नभएको स्पष्ट गरेको छ।
सचिवालयद्वारा शुक्रबार सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गर्दै विभिन्न पार्टी र समाजवादी मोर्चाका घटकहरुबीच वैचारिक तथा सांगठनिक छलफलहरू जारी रहेको जनाएको हो । नोटमा भनिएको छ – केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकता बमोजिम समाजवादी मोर्चामा आबद्ध राजनीतिक दलहरू तथा अन्य वामपन्थी र प्रगतिशील समूहहरूबीच नेपाली समाजवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा सांगठनिक छलफलहरू जारी छन्।
सचिवालयका अनुसार “हाल कुनै पनि दलसँग पार्टी एकता गर्ने वा अन्य टुंगोमा पुग्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन।”
माओवादी केन्द्रका अनुसार विगतका जनक्रान्ति र जनसंघर्षका उपलब्धिहरूको रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्न एकता अब अपरिहार्य बनेको ठहर पार्टीले गरेको छ।
प्रचण्डको सचिवालयले इतिहासले मागेको यही आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न पक्षसँग सघन छलफल भइरहे पनि कुनै पनि औपचारिक निर्णय नलिइएको स्पष्ट गरेको छ। साथै, यस विषयमा सामाजिक सञ्जाल र केही संचार माध्यममा आएका प्रचारहरू निराधार र भ्रामक भएको भन्दै त्यसतर्फ ध्यान नदिन सम्पूर्ण कार्यकर्ता र जनसमुदायलाई आग्रह गरिएको छ।


















प्रतिक्रिया