काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजीका विभिन्न समूहका प्रतिनिधिहरूबीच त्रिपक्षीय बैठक आज अपरान्ह ४ बजे बालुवाटारमा बस्दैछ ।
गत भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले पहिलो पटक दल र जेनजीका प्रतिनिधिलाई एउटै मञ्चमा राखेर छलफल गर्न लागेको हो । यसअघि उनले तिहारअघि दलका प्रतिनिधिसँग छुट्टै बैठक गरेकी थिइन् तर सो बैठकमा जेनजीका प्रतिनिधि सहभागी थिएनन् ।
आजको बैठकमा आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई सफल बनाउने तयारी, जेनजीले उठाएका मागहरूको सम्बोधन, र परिवर्तित राजनीतिक परिस्थितिमा सबै पक्षको भूमिका जस्ता विषयमा विस्तृत छलफल हुने बताइएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, निर्वाचनको माहोल बनाउन र आपसी समझदारी बढाउन प्रधानमन्त्री कार्कीले संयुक्त बैठक आयोजना गरेकी हुन् । उनले भने, “निर्वाचन सफल बनाउन राजनीतिक दल, जेनजी र सम्बन्धित पक्षहरूसँग चरणबद्ध वार्ता र छलफलको क्रम जारी रहनेछ ।”



















प्रतिक्रिया