काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिता शुक्रबार बिहान पौने ९ बजेबाट हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा सुरु हुँदैछ ।
नेपालले यसअघि अनुभवी ब्याट्सम्यान शरद भेषावकरको कप्तानीमा टोली घोषणा गरिसकेको छ । छोटो स्वरूपको यो क्रिकेट (छ ओभरको खेल) गतिशीलता, तीव्र आक्रमण र फरक रणनीतिको प्रयोगमा आधारित रहनेछ ।
शरदको कप्तानीमा नेपाली टोलीमा सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान रहेका छन् ।
प्रतियोगितामा नेपालसहित १२ राष्ट्र सहभागी छन् । चार समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा दक्षिण अफ्रिका र अफगानिस्तान सँग रहेको छ ।
त्यस्तै, समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्याण्ड र यूएई, समूह ‘सी’ मा भारत, पाकिस्तान र कुवेत तथा समूह ‘डी’ मा श्रीलङ्का, बङ्गलादेश र हङकङ छन् ।
यस प्रतियोगिताका प्रत्येक खेल छ ओभरका हुनेछन् र प्रत्येक टोलीमा छ खेलाडीले खेल्न पाउने प्रावधान छ ।


















प्रतिक्रिया