४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

राष्ट्रिय सतर्कता केन्द्रलाई कर्मचारी र कार्यालय भवनको अभाव

कामको प्रकृतिअनुसार सतर्कता केन्द्रमा बस्न अधिकांश कर्मचारीको अरुची



काठमाडौँ । सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन र छड्के जाँचलगायत गर्ने निकाय राष्ट्रिय सतर्कता केन्द्र आफैँ कर्मचारी अपुग र साँघुरो कार्यालयको समस्यामा छ ।

सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भुइँतलामा कार्यालय रहेको केन्द्रलाई कार्यालय सार्न मन्त्रालयले पटकपटक आग्रह गर्दै आएको छभने केन्द्रमा दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा कामकाज नै प्रभावित भएको छ ।

केन्द्रका प्रवक्ता एवं सहसचिव नारायण भट्टले हाल १४७ दरबन्दी रहेकामा करिब ३० प्रतिशत कर्मचारी रिक्त रहेको बताए । कामको प्रकृतिअनुसार अधिकांश कर्मचारी केन्द्रमा आउन नचाहने प्रवृत्ति देखिएको उनले बताए ।

केन्द्रको २३औँ प्रतिवेदनमा केन्द्रमा स्वीकृत दरबन्दीमध्ये प्रहरीतर्फ २४ कर्मचारी हुनुपर्नेमा १२ जना मात्रै र निजामतीतर्फ ९६ दरबन्दीमध्ये ७१ कार्यरत छन् । यसरी ३१ प्रतिशत कर्मचारी पदपूर्ति हुन नसकेको सो प्रतिवेदनमा जनाइएको छ । केन्द्रले सेवा प्रवाह तथा विकास निर्माणमा गुणस्तरको प्राविधिक परीक्षण पनि गर्दै आएको छ । भ्रष्टाचारजन्य कार्यलाई न्यूनीकरण र भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्न प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहनेगरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सो केन्द्र स्थापना भएको हो ।

यसले भ्रष्टाचार नियन्त्रणका लागि सूचना सङ्कलन गर्ने, सतर्क गराउने, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने, राष्ट्रसेवक कर्मचारीको सम्पत्ति विवरण तथा आयको अनुगमन गर्ने, भ्रष्टाचार नियन्त्रणा लागि सम्बन्धित निकायलाई सुझाव तथा निर्देशन दिने जस्ता कार्य गर्दै आएको छ ।

“खासगरी प्राविधिक कर्मचारीको पदपूर्ति एवं कर्मचारीको टिकाउ दर झनै निराशाजनक छ । यसबाट केन्द्रको कार्य प्रभावकारितामा केही असर पर्न गएको महसुस गरिएको छ”, आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदनमा भनिएको छ ।

केन्द्रको कामको प्रकृतिअनुसार प्राविधिक कर्मचारीको आवश्यकता हुने स्थितिमा त्यही क्षेत्रका कर्मचारी अपुग हुँदा काममा असर परेको प्रवक्ता भट्टले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले केन्द्रमा कर्मचारीको टिकाउ दर कम रहेको यथार्थका बीच कसरी दरबन्दीबमोजिम कर्मचारी पदपूर्ति गराउन सकिन्छ भन्नेमा आफूहरु गम्भीर रहेको बताए । उनले केन्द्रलाई बेग्लै कार्यालय उपलब्ध गराउने विषयमा छलफल भएको जानकारी दिए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा शिक्षा मन्त्रालयको भवनमा पनि आगजनी र क्षति पुग्दा भुइँतलामा रहेको केन्द्रको कार्यालय, गाडी ध्वस्त भएका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १ : ४५ बजे

नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा

काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी

नारायणगढ । दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो

निर्माण व्यवसायीले दिए मुलकभरका विकास निर्माणको काम ठप्प पार्ने चेतावनी

नेपालगन्ज। बिगत २ सातादेखि आन्दोलनमा उत्रिएका बाँकेका निर्माण व्यवसायीहरुले आफ्नो

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको विरोध, जेठ ५ गते दिउँसै लालटिन बालिने

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा