बुटवल । रोट्रयाक क्लब अफ लुम्बिनी स्टारको आयोजनामा आगामी शनिबार बुटवलमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ । इन्टर-रोट्रयाक क्लबहरूबीच हुने यस प्रतियोगितामा २० भन्दा बढी क्लबले सहभागिता जनाउने भएका छन् ।
विहीबार तिलोत्तमामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष गौरव पाण्डेले प्रतियोगिताको उद्देश्य रोट्रयाक सदस्यबीच आपसी सद्भाव, सहकार्य र परिचय आदान-प्रदान बढाउनु रहेको बताए ।
बुटवलको योगिकुटीस्थित स्वर्णिम फुटसल एरिनामा आयोजना हुने प्रतियोगितामा महिला तथा पुरुष गरी दुई फरक इभेन्ट हुने खेल संयोजक प्रतीक अर्यालले जानकारी दिए ।
पुरुषतर्फको विजेताले १० हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेता टिमलाई ५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक अर्यालले बताए । साथै प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई विशेष सम्मान गरिनेछ ।
सामाजिक सेवा गतिविधिमा खर्च गर्ने उद्देश्यले रकम संकलन गर्न प्रतियोगिता आयोजना गरिएको क्लबका सचिव लक्ष्मण चौधरीले बताए । उनका अनुसार पुरुषतर्फ ३ हजार तथा महिलातर्फ २ हजार दर्ता शुल्क तोकिएको छ । हालसम्म पुरुषतर्फ १२ र महिलातर्फ ५ समूह दर्ता भइसकेका छन् ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको र शुक्रबार साँझ टाइशीट सार्वजनिक गरिने सचिव अर्यालले जानकारी दिए ।


















प्रतिक्रिया