काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका पाँच सांसदलाई तत्काल पदमुक्त गर्ने कार्य रोक्न आदेश जारी गरेको छ।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले प्रदेशसभा सभामुख रामचन्द्र मण्डललाई उनीहरूलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देश दिएको हो।
कात्तिक २७ गते सभामुख मण्डलले प्रदेशसभा बैठकमा लगातार १० पटकभन्दा बढी अनुपस्थित रहेको आरोपमा जनता समाजवादी पार्टीका चार र नागरिक उन्मुक्ति पार्टीका एक गरी पाँच सांसद -उर्मिला सिंह, मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन कलवार र सारदा शंकर कलवार – लाई पदमुक्त गरेका थिए।
तर हाजिरी विवरण उपलब्ध गराउन सभामुखको कार्यालयमा निवेदन दिएको भए पनि कुनै आधारबिना आफूहरूलाई पदमुक्त गरिएको भन्दै ती सांसदहरू सर्वोच्च अदालत पुगेका थिए।
उनीहरूको दाबी र प्रस्तुत प्रमाणको प्रारम्भिक अध्ययनपछि सर्वोच्चले पदमुक्त गर्ने निर्णय अमलमा नआउनेगरी अन्तरिम आदेश जारी गरेको हो।


















प्रतिक्रिया