काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत मंसिर २ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोज र कर्णाली याक्सबीचको खेलमा चितवनले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । चितवनका कप्तान कुशल मल्लले टस जित्दै कर्णाली याक्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
यो खेल एनपीएलमा दुवै टोलीबीचको तेस्रो प्रतिस्पर्धा हो । पहिलो संस्करणमा चितवनले उत्कृष्ट प्रदर्शन गर्दै प्लेअफ यात्रा तय गरेको थियो, तर कर्णालीसँग इलिमिनेटरमा २१ रनले पराजित हुनुपरेको थियो । त्यस्तै, लिग चरणमा पनि कर्णालीले चितवनलाई पाँच विकेटले हराएको थियो ।
त्रिवि मैदानमै आयोजना हुने एनपीएलको दोस्रो संस्करणमा पनि आठ टोली सहभागी छन् । ती टोलीमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स समावेश छन् ।
एनपीएलको दोस्रो संस्करणमा दुवै टोली राम्रो सुरुआत गर्ने लक्ष्यमा छन् । यसअघि कर्णालीले चितवनविरुद्धको दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेको हुँदा आजको खेलमा पनि दुवै टोलीबीच रोमाञ्चक भिडन्त हुने अपेक्षा गरिएको छ ।


















प्रतिक्रिया