काठमाडौं । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बारा जाने भएपछि सिमरामा जेनजीको नाममा युवाहरुले प्रदर्शन गरेका छन् ।
एमाले विरोधी प्रदर्शनकारी युवाहरुले पोखरेल र बस्नेत सिमरा विमानस्थल आउने भनेपछि विमानस्थलकै गेटमा पुगेर नारावाजी र गेट तोडफोड गरेका छन् । त्यसपछि एमाले कार्यकर्ताहरुसँग उनीहरुको झडप भएपनि स्थिति थप तनाबग्रस्त बनेको छ ।
बाराको परवानीपुरमा आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितको टोली काठमाडौंबाट जहाजमा सिमरा जान लागेका थिए । तर नेताहरु बारा नपुग्दै सिमरा बजारमा एमालेका कार्यकर्ताहरुसँग उनीहरुको झडप भएको हो ।
प्रदर्शनकारी युवाले सिमरा विमानस्थल छिर्ने बाटो अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । प्रहरीले विमानस्थलमा आक्रमण नगर्न र सार्वजनिक सडक खाली गर्न चेतावनी दिएको छ ।
स्थिति थप बिग्रन नदिन प्रशासनले कर्फ्यू लगाएको छ । मध्यान्ह १२ः३० बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् । जीतपुर सिमरा उपमहानगरपालिका भित्र कर्फ्यु आदेश जारी गरिएको छ । प्रशानले गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५ सय मिटरसम्म तथा सिमरा विमानस्थलको वरिपरि ५ सय मिटरसम्म कसैले आवतजावत, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको हो ।



















प्रतिक्रिया