काठमाडौँ । राष्ट्रिय जनमोर्चाले जेनजी आन्दोलन हुनुका पछाडिका कारणबारे १२ बुँदे अवधारणापत्र सार्वजनिक गरेको छ ।
आज यहाँ सार्वजनिक अवधारणापत्रमा देशको राजनीति र आन्दोलनलाई समेत सही दिशा निर्देशन गर्नुपर्ने जिम्मेवारी आएको उल्लेख छ । “हामीले उपर्युक्त परिस्थितिमा सही दिशा निर्देशन गरेर देशलाई अगाडि बढाउनुपर्छ, अन्यथा देश अप्ठेरोमा पर्न सक्छ”, अवधारणापत्रमा भनिएको छ ।
विघटित प्रतिनिधिसभाको पुनःस्थापना वा नयाँ चुनाव दुवै अवस्थामा बहुदलीय व्यवस्थाको रक्षा वा उपयोग हालका लागि सही नीति हुने पनि अवधारणा पत्रमा समेटिएको छ । यस्तै, मुलुकमा पटक–पटक हुने घटना र आन्दोलनमा देशभित्रका राजनीतिक गतिविधि र ‘जेनजी’ प्रदर्शनसँगै अन्तरराष्ट्रिय परिप्रेक्षमा पनि हेर्न र बुझने प्रयत्न गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
उक्त पार्टीद्वारा आज यहाँ आयोजना गरेको ‘नेपालको तात्कालीन राजनीतिक परिस्थिति र जेनजी आन्दोलन’ विषयक कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रदर्शनका क्रममा युवा विद्यार्थीमाथि भएको दमन र घुसपैठमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले भने, “सिहदरबार र सर्वोच्च अदालत आगजनी हुँदा कैयौँ ऐतिहासिक र अन्तरराष्ट्रिय महत्त्वका दस्ताबेज ध्यस्त भए, यस प्रकारका अपराधजन्य घटनाको छानबिन गरी दोषिलाई सजाय दिनु धेरै आवश्यक छ ।”
महामन्त्री सिंहले देशी–विदेशी शक्तिले नेपाललाई अस्थिर तुल्याएर आफना स्वार्थ पूरा गराउन प्रयत्न गरिरहेकाले यस्ता घटनाका पछि त्यसखाले स्वार्थ लुकेको हुन सक्नेतर्फ सबै चेतनशील र प्रबुद्ध समूहको ध्यान जान आवश्यक रहेको पनि जिकिर गरे । ‘यो सरकार मूल रुपमा जेनजी आन्दोलनको परिणाम हो, जेनजी आन्दोलन मूल रुपमा अमेरिकाद्वारा सञ्चालित हो,’ सिंहले भने, ‘त्यसका मान्छेहरू पनि बढी अमेरिकाप्रति सम्बन्धित, बार्बरा फान्डेसनसँग सम्बन्धित छ। एनजीओ, आइएनजीओसँग सम्बन्धित छ। त्यसले आफ्नो चरित्रलाई उदांगो बनाएको छ।’
उनले नेपालको भविष्य पनि ‘जेनजी’ पुस्तामाथि निर्भर रहेको बताउँदै त्यसका लागि उनीहरू उच्च प्रकारको दर्शन, सिद्धान्त, नीति, कार्यक्रम वा देश र जनताको सेवाको भावनाद्वारा निर्देशित हुनुपर्ने बताए ।
पार्टीका उपाध्यक्ष एवंम संविधानसभा सदस्य दुर्गा पौडेलले देशका पुराना राजनीतिक दलका कम्जोरी, भ्रष्टाचार र सामाजिक सञ्जाललाई निस्कृय तुल्याइएको विषय उठान गरी भएको जेनजी प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको पक्षलाई गम्भिरतापूर्वक लिन आवश्यक रहेको बताइन् । उनले भनिन्, “युवा पुस्ताले पनि जोश, होससँगै परिपक्कता देखाउन आवश्यक छ ।”
वामपन्थी नेता डा विजय पौडेलले राजनीतिक दल र नेताले देश विकासका लागि आवश्यक पर्ने कृषि, औद्योगिक क्रान्ति, रोजगारीका विषयमा बहस केन्द्रित गर्नुपर्नेमा व्यक्ति विशेषलाई पार्टी सदस्य दिने कि नदिने भन्नेमा अल्झिदा मुुलुकले अनावश्यक क्षति बेहोर्नुपरेको प्रतिक्रिया दिए ।
अग्रज पत्रकार देवप्रकाश त्रिपाठीले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घुसपैठले नेपालको इतिहास, धर्म, संस्कृति र महत्त्वपूर्ण संरचनामाथि आक्रमण भएको बताए । उनले नेपालाई संस्थागत हुन नदिने मात्र नभई संविधान र कानुनबमोजिम चल्न नदिने षडयन्त्रका रूपमा विभिन्न घटना हुने गरेको चर्चा गर्दै नेपालीबीचको एकता आजको आवश्यकता हो भन्ने पाटोलाई बुझिदिन आग्रह गरे ।
जनता समाजवादी पार्टीका नेता प्रकाश अधिकारीले राज्य सञ्चालन गर्ने राजनीतिक दललाई जनताले बेलाबखत सुध्रिन दिएको सुझावलाई आत्मसात् नगरेकाले पछिल्लो अवस्था आएको धारणा राखे ।


















प्रतिक्रिया