विराटनगर । विराटनगर विमानस्थलमा एमाले नेता तथा पोलिट्ब्युरो सदस्य महेश बस्नेतमाथि रातो मसी फ्याँकेर आक्रमण प्रयास गरिएको घटनापछि उनले कडा प्रतिक्रिया दिएका छन् ।
आइतबार विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा जेनजी समूहका नाममा जम्मा भएका प्रदर्शनकारीहरूले बस्नेत सवार गाडीमा रातो रङ फ्याँकेका थिए । यस क्रममा प्रदर्शनकारीहरूले नाराबाजीसमेत गरेका थिए । घटनापछि सञ्जोग गौतम र अर्पित कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बस्नेत एमालेको इटहरीमा आयोजना भएको कार्यक्रमका लागि कोशी प्रदेश आएका थिए । घटनापछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको प्रतिक्रियामा उनले आफू विरुद्ध भएको आक्रमण प्रयासलाई ‘गम्भीर र निन्दनीय’ उल्लेख गरेका छन् ।
उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा विरोध गर्नु प्रत्येक नागरिकको अधिकार भए पनि त्यसको सीमा हुन्छ । “शान्तिपूर्ण रूपमा व्यक्त गरिएको विरोध वैध हुन सक्छ, तर हिंसात्मक व्यवहार कुनै हालतमा स्वीकार्य हुँदैन,” बस्नेतले भने ।
आफूमाथि आक्रमण प्रयास भएको बेला तत्कालै प्रहरीले देखाएको सक्रियताप्रति उनले आभार व्यक्त गरेका छन् । साथै उनले अवरोध र बाधाबीच पनि युवा संघ नेपाल, कोशी प्रदेशद्वारा आयोजना गरिएको जागरण सभा विराटनगरमा सुरु भएको जानकारी गराएका छन् ।
बस्नेतका अनुसार सकारात्मक ऊर्जा र उच्च सहभागितासहितको उक्त अभियानले देशभर नयाँ सन्देश प्रवाह गर्नेछ ।
पछिल्ला दिनमा जेनजी समूहको नाममा एमाले नेताहरु, विशेषतः बस्नेतविरुद्ध विभिन्न स्थानमा उग्र विरोध हुँदै आएको छ । इटहरी, सिमरा र मधेसका थुप्रै स्थानमा उनीमाथि आक्रमण प्रयास र विरोध प्रदर्शन देखिएको छ । सिमरामै तीन दिनसम्म अवस्था तनावपूर्ण बनेको थियो ।


















प्रतिक्रिया