काठमाडौं । अन्तिम पाँच ओभरमा आक्रामक ६९ रन प्रहार गरेको विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न खेलमा कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले १९।५ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो।
रोमाञ्चक बनेको खेलमा विराटनगरलाई अन्तिम ओभरमा १० रन आवश्यक थियो। कर्णालीका नन्दन यादवले बलिङ थालेका ओभरको पहिलो तीन बलमै बसिर अहमेद र कप्तान सन्दीप लामिछानेले पाँच रन जोड्दै दवाव कम गरे। चौथो बलमा एक रन थपिएको थियो। पाँचौँ बलमा स्ट्राइकमा रहेका बसिरले छक्का प्रहार गर्दै विराटनगरलाई नाटकीय जित दिलाए र टिमको प्लेअफ सम्भावना बलियो बनाए।
विराटनगरका तर्फबाट बसिर अहमेदले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ६२ रनको पारी खेले। ४३ बलमा तीन चौका र तीन छक्कासहित उनले मध्यक्रम सम्हाल्दै टीमलाई जितसम्म पुर्याए। बसिर र नारायण जोशीबीच छैटौँ विकेटका लागि ६९ रनको महत्त्वपूर्ण साझेदारी भयो। नारायणले १६ बलमा २५ रन जोडे।
१५औँ ओभरसम्म ९४–५ को कठिन स्थितिमा रहेको विराटनगरले १६औँ ओभरपछि आक्रमक ब्याटिङ गर्दै खेल आफ्नो पक्षमा तान्यो। साहिल पटेलले १९ रन र साम हेजलेटले १६ रन जोडे।
कर्णालीका सोमपाल कामी र गुल्सन झाले समान दुई–दुई विकेट लिए भने पवन सर्राफ, नन्दन यादव र विलियम बोसिस्टोले एक–एक विकेट हात पारे।
यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा तीन विकेट गुमाएर १६० रन बनाएको थियो। ओपनर प्रियांक पन्चालले ४७ बलमा ६ चौका र दुई छक्कासहित ६३ रन प्रहार गर्दै टिमको इनिङ सम्हाले। पन्चाल र विलियम बोसिस्टोसबीच ९६ रनको साझेदारी भयो। बोसिस्टो ४८ रनमा अविजित रहे।
मार्क वाट आज ६ रनमै आउट भए भने गुल्सन झाले छिटो २० रन थपे। विराटनगरबाट मर्चेन्ट डी लिंगे र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए।
पाँच खेल खेलेको विराटनगरको यो चौथो जित हो। यसअघि टोलीले पोखरा एभेन्जर्स, काठमाण्डू गोर्खाज र जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो। चौथो खेलमा चितवनसँग ४८ रनले हारेपछि अपराजित यात्रा रोकिएको थियो।
कर्णालीको भने यो चौथो खेल हो। टीमले लुम्बिनी लायन्सविरुद्ध जित निकाल्दा सुदूरपश्चिम, चितवन र आज फेरि विराटनगरसँग पराजित हुनुपरेको छ।


















प्रतिक्रिया