काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आज महिलाहरुले यःमरि बनाउने कला सिकेका छन् ।
प्रतिष्ठानको आयोजना तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा आज यहाँ भएको ‘नेवाः लोककला अन्तरक्रिया तथा कला कार्यशाला’का अवसरमा महिलाहरुले नेवार समुदायको मौलिक खाना यःमरि बनाएर देखाएका थिए ।
उक्त कला ५० भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । उनीहरुले कार्यक्रममा पीठो मुछेर कला सिर्जना गरेका थिए ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव डा सुरेश सुरस श्रेष्ठले उद्घाटन गरेको कार्यशाला मौलिक लोककलाको जगेर्नाका लागि आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस कार्यक्रमले पहिचान र कला जागरणको कुरा उठाएको बताए । उनले कार्यशालामा सहभागीले संस्कृतिलाई कलाको बिम्बीकरण गरेर देखाएको कला महत्वपूर्ण भएको धारणा राखे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव डा सुरेश सुरस श्रेष्ठले नेपालमा यःमरि जस्ता विभिन्न अभौतिक सांस्कृतिक सम्पदा लुकेर रहेको र त्यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेवाः समुदायको परिचय बोकेको यःमरिलगायतका लोककलाको संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गरिनु अहिलेको आवश्यकता भएको बताए ।
प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले लोककला, संस्कृतिको संरक्षण र पुस्तान्तरणको उद्देश्य राखेर यस कार्यक्रमको आयोजना गरिएको बताए । उनले आगामी दिनमा यस किसिमका कार्यक्रमलाई निरन्तरता दिँदै जाने धारणा राखे ।
समारोहमा त्रिभुवन विश्वविद्यालयको नेपालभाषा केन्द्रीय विभागका सहप्राध्यापक डा राजनलाल जोशीले ‘यःमरि कलाकारिताको प्रारम्भ’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सो कार्यपत्रमाथि कलाकार तथा कार्यक्रम संयोजक मनरा प्रजापतिले टिप्पणी गरेकी थिइन् । कार्यक्रमको प्रशिक्षकका रूपमा सुमन महर्जन रहेकी थिइन् भने कलाकार सम्झना राजभण्डारीले पनि यःमरी कलाका बारेमा आफ्ना अनुभवको चर्चा गरेका थिए ।


















प्रतिक्रिया