१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी पनि शान्तिपूर्ण, भयरहित वातावणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याएकी छन् ।

प्रधानमन्त्रीबाट आज बालुवाटारमा आह्वान भएको सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै निर्वाचन आयोग, सुरक्षा निकायका सबै अङ्गलगायत निर्वाचनसँग प्रत्यक्ष जोडिएका राज्यका निकायहरू निर्वाचनका लागि तयार रहेको जनाइन् । उनले प्रतिनिधिसभाको निर्वाचन फागुन २१ भन्दा पछाडि नजाने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले भनिन्, “चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौँ, कसरी चुनाव सफल पार्ने भनेर सोचौँ, सबैले एकचित्तले सोचेमा चुनाव नहुने कुरै छैन, एक सय २६ वटै दलले चुनाव हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ । हामी एकमत भयौँ भने निर्वाचनमा कसैले खलल पार्न सक्दैन, खराब तत्वले आक्रमण गर्न सक्दैन ।” उनले सुरक्षाको पहिलो कडी जनता नै भएको उल्लेख गर्दै त्यसपछि मात्र प्रहरी, सशस्त्र, भूतपूर्व सुरक्षाकर्मी भएको उल्लेख गरिन् ।

“अहिलेको परिस्थितिमा हरेकले भनिरहेको एउटैमात्र बाटो निर्वाचन हो, यसबाहेक अर्को विकल्प छैन, हामी जेनजी आन्दोलनबाट आयौँ तर दलका विरोधी होइनौँ, राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएको हो भनेर यहाँहरूले बुझ्नुपर्छ”, उनले भनिन्, “निर्वाचन आयोगले तत्कालै सक्रिय भएर निर्वाचनको तयारी अघि बढाएको छ, सुरक्षा निकायको प्रस्तुतिले हामी सक्रिय र सक्षम छौँ भनेको छ, सेनाले पनि आफ्नो काम सुरु गरिसकेको छ, प्रहरीले निरन्तर कानुनीराज स्थापनाका लागि काम गरिरहेको छ ।”

प्रधानमन्त्री कार्कीले आज भएको सर्वदलीय बैठकले दलहरू पनि निर्वाचनका लागि तयार रहेको जनाएको उल्लेख गरिन् । “आज जुन भेला भयो, अहिलेसम्मकै महत्त्वपूर्ण हो भन्ने लागेको छ, समग्रमा निर्वाचन होस् र हुनुपर्छ भन्ने आवाज नै यहाँ सबैको रह्यो, कहीँकतै आशङ्काका कारण छन् भने पनि तिनले हामीलाई सचेत गराउँछन् र अगाडि बढ्न मद्दत गर्छन् ।”

उनले भदौ २३ र २४ गते भएको आन्दोलनको स्मरण गर्दै एकताबद्ध भएर अगाडिको बाटो पहिल्याउन दलहरूलाई आग्रह पनि गरिन् । उनले भनिन्, “हामीकहाँ जुन घटना भयो, त्यसको विश्लेषण, व्याख्या समयक्रममा होला र निचोड पनि आउला, तर यस घटनाले राष्ट्रको जीवनमा ठूलो परिवर्तन ल्याइदियो । भइरहेको निर्वाचित र बलियो सरकार परिस्थितिलाई वशमा लिन विफल भयो ।” युवा विद्रोहपछि विकल्पका रूपमा वर्तमान सरकार अन्तरिमकालको व्यवस्थापनका लागि आएको प्रष्ट पार्दै उनले सरकारको विरुद्धमा अदालतबाट अन्तरिम आदेश भएको परिस्थिति फरक हुनसक्ने बताइन् ।

जेनजीदेखि सबै दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाज सबै पक्षसँग निरन्तर र कयौँपटक छलफल गर्दै आएको र आशङ्काहरू निवारण गर्दै आएको उनको भनाइ छ । “मुलुकप्रति हामी सबैको दायित्व छ । मुलुकले एउटा बाटो पाओस्, जेनजी आन्दोलनको मागअनुसार मुलुकले गति र दिशा लेओस्, तर २३ गते निहत्था युवा मारिए, भोलिपल्ट आगजनी भयो । यो कसले किन गरेको, अध्ययनले बताउने नै छ”, उनले भनिन् ।

तर, उनले आगजनी गर्ने बानी भयो भने भोलि जोकोहीले जोकसैलाई जलाउन सक्ने चिन्ता व्यक्त गर्दै हिंस्रक र हृदयविदारक अवस्थाको सामना गर्नु नपरोस् भनेर सबैले सोच्नुपर्नेमा जोड दिइन् । “काठमाडौँमा धेरै क्षति भयो, ललितपुरमा कम भयो । ललितपुरमा किन कम भयो भनेर पनि हेर्नुपर्छ, ललितपुरका जनताले धेरै ठाउँमा विध्वंशको प्रतिकार गरेको देखियो । यसरी खराब तत्वलाई रोक्ने सामथ्र्य पनि समाजमा हुनुपर्छ, हामीले आफ्नै छिमेकी, साथीभाइको घर किन जलाउनबाट जोगाउन सकेनौँ, यो चिन्ताको विषय हो । यसमा हामीले क्षमायाचना पनि गरौँ ।” उनले सरकारको कुनै पनि निजी स्वार्थ र आकाङ्क्षा नभएको प्रस्ट पार्दै केही अतिरिक्त प्राप्तिका लागि सरकारले कुनै पनि काम नगरेको बताइन् ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ९ : ५८ बजे

क्यान्सर अस्पतालमा औषधि अभाव

चितवन । क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बिपी कोइराला मेमोरियल

६० वर्ष भन्दा पुरानो पुलबाट मुक्ति पाउँदै बाँके-बर्दियाका यात्रुहरु

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गतको नेपालगन्ज-गुलरिया सडकको खजुरा खण्डमा रहेको

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

दमौली । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका