काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । एमालेले दिएको जानकारीअनुसार मतदान प्रक्रिया बिहान ८ बजेदेखि सुरु हुनेछ ।
यसअघि मंगलबार साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका तय गरिएको भए पनि अन्तिम समयमा प्राविधिक तयारी पूरा नभएको भन्दै मतदान स्थगित गरिएको थियो । एमालेको केन्द्रीय निर्वाचन आयोगले आवश्यक प्राविधिक तयारी नपुगेकाले मतदान कार्यक्रम एक दिनका लागि सारिएको जनाएको थियो ।
आज मतदानका लागि महाधिवेशन प्रतिनिधिहरूलाई बिहानै भृकुटीमण्डपमा उपस्थित हुन आग्रह गरिएको छ । मतदान प्रक्रिया विद्युतीय भोटिङ मेसिनमार्फत गरिनेछ । आयोगका अनुसार रामलक्ष्मण भोटिङ मेसिन प्रयोग गरेर मतदान गरिँदै छ ।
महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ । यसैगरी १९ पदाधिकारी पदका लागि ४२ जना उम्मेदवार चुनावी मैदानमा छन् भने केन्द्रीय सदस्यसहित सबै पदमा गरी ३०० भन्दा बढी उम्मेदवारको प्रतिस्पर्धा रहेको छ ।
आजको मतदानपछि मतगणना र नतिजा सार्वजनिक गरिने कार्यतालिका रहेको एमालेले जनाएको छ ।



















प्रतिक्रिया