काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर र जिम्मेवार हुनुपर्ने बताएका छन् । उनले शान्तिपूर्ण र निष्पक्ष निर्वाचनको सुनिश्चितता बिना लोकतान्त्रिक प्रक्रिया अघि बढ्न नसक्ने स्पष्ट पारे ।
पार्टीको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरूलाई प्रमाणपत्र वितरण गर्दै अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थितिप्रति टिप्पणी गर्दै भने, “निर्वाचनका लागि शान्तिपूर्ण वातावरण आवश्यक छ । त्रास र असुरक्षाको माहोलमा निर्वाचन हुन सक्दैन ।”
उनले हाल देखिएको अस्थिरता र असुरक्षाको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट हतियार लुटिनु तथा जेलबाट कैदी भाग्नु जस्ता घटनाले सुरक्षा चुनौती थपिएको बताए । यस्ता अवस्थाबीच निर्वाचन गरिनु उपयुक्त नहुने उनको भनाइ थियो ।
अध्यक्ष ओलीले हालै राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको राजनीतिक दलहरूको बैठकमा आफू सहभागी भएको उल्लेख गर्दै उक्त बैठकमा पनि आफूले स्पष्ट रूपमा पार्टी निर्वाचनको विपक्षमा नरहेको तर लोकतान्त्रिक मूल्य-मान्यता विपरीतका कुनै कदम स्वीकार्य नहुने धारणा राखेको बताए । उनले प्रतिनिधिसभा पुनःस्थापना भइसकेको अवस्थामा फागुन २१ गते निर्वाचन गर्न चाहिने हो भने त्यसअनुसारको अनुकूल वातावरण तयार गर्न सरकारको दायित्व रहेको स्पष्ट पारे ।
त्यस्तै, भदौ २३ गते सुरक्षाकर्मीले लिएको कदमबारे टिप्पणी गर्दै अध्यक्ष ओलीले सो दिनको परिस्थितिलाई मूल्यांकन नगरी तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउनु उचित नहुने धारणा व्यक्त गरे । उनले सुरक्षाकर्मीले सरकारी सम्पत्ति र आफ्नै सुरक्षाका लागि निर्णय लिएको भन्दै त्यसलाई समग्र घटनाक्रमको पृष्ठभूमिमा बुझ्नुपर्ने बताए ।
अध्यक्ष ओलीले अन्त्यमा लोकतन्त्र, संविधान र विधिको शासनको रक्षा गर्दै मुलुकलाई स्थिरता र समृद्धिको दिशामा अघि बढाउन सबै राजनीतिक शक्तिहरू जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने आवश्यकता औँल्याए ।



















प्रतिक्रिया