काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु गरेको छ । पार्टीले आज बिहान ७ बजेदेखि आइतबार साँझ ७ बजेसम्म आन्तरिक मतदान सञ्चालन गर्दैछ ।
रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ११० जना उम्मेदवार छनोट गर्न लागेको हो । यसका लागि पार्टीले गत कात्तिक २२ गतेदेखि आवेदन आह्वान गरेको थियो । सो क्रममा ३८० जनाले उम्मेदवारी दिएका थिए । आवेदन दिएका उम्मेदवारहरूले आफ्नो ‘ब्लुप्रिन्ट’ प्रस्तुत गरिसकेका छन् भने त्यसैका आधारमा आन्तरिक मतदान हुँदैछ ।
पार्टीले समानुपातिक प्रणालीअन्तर्गत ६ वटा क्लस्टर निर्धारण गरेको छ । जसअनुसार खस–आर्यबाट ३३ जना, आदिवासी जनजातिबाट ३२ जना, मधेसीबाट १८ जना, दलितबाट १५ जना, थारुबाट ८ जना र मुस्लिम समुदायबाट ५ जना उम्मेदवार छनोट गरिनेछ ।
आन्तरिक मतदानमा सहभागी प्रत्येक मतदाताले अधिकतम ११० जनासम्मलाई मत दिन सक्नेछन् । साथै कम्तीमा ५७ जना महिला उम्मेदवारलाई मत दिनु अनिवार्य गरिएको छ । कुनै पनि क्लस्टर खाली छाड्न नपाइने व्यवस्था गरिएको छ भने प्रत्येक क्लस्टरमा न्यूनतम १० प्रतिशत मतदान गर्नुपर्ने प्रावधान राखिएको छ ।
रास्वपाले यसअघि पनि उम्मेदवार छनोटका लागि प्राइमरी प्रणाली अपनाउँदै आएको छ । यद्यपि, यस प्रणालीमा मत परिणाम सार्वजनिक नगर्ने, कति मत खस्यो भन्ने विवरण नखुलाउने जस्ता विषयमा आलोचना हुँदै आएको छ ।
यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, कुलमान घिसिङ र जेन–जी समूहसँग सहकार्यको प्रयास भइरहेकाले अन्तिम सूचीमा कति उम्मेदवार पर्छन् भन्ने विषय अझै अनिश्चित रहेको बताइएको छ । पार्टी नेतृत्वका अनुसार सबै प्रक्रिया टुंगिएपछि मात्रै अन्तिम नामावली सार्वजनिक गरिनेछ ।



















प्रतिक्रिया