बुटवल । पुस १४ गते सोमबार राती अबेर भइसकेको थियो । बढ्दै गरेको शीतलहरले बुटवलबासी कक्रक्क परिरहेका थिए तर बुटवल मण्डपमा जारी औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सवमा सहभागी भएका दर्शकहरु कलाकार ज्योति मगर र बद्री पंगेनीलाई कुरिरहेका थिए ।
सोमबार बिहानैबाट परिरहेको शीतलहर रातीको समयमा बढ्दै गइरहेको थियो । सहभागी अवलोकनकर्ता फुसफुसे पानीले धेरैजसो भिजेका थिए तर कार्यक्रमको स्टेज अगाडि र वरिपरी पूरै दर्शक खचाखच थियो । उद्घोषक विन्दु थापा निहारिकाले ज्योति र पंगेनीले अहिले चिसिएका सहभागीलाई तताउने उद्घोष गर्दै अन्य नियमित कार्यक्रम सक्दै गइरहेकी थिइन् ।
साँझ करिब ७ बजिसक्दा कलाकार पंगेनी र मगर स्टेज छेउमा पुगे । प्रायः दौरा सुरवाल कोट टोपीमा सजिने पंगेनी मंगलबार पनि सोही ड्रेसमै थिए भने ज्योति अरु बेलाजस्तो भन्दा फरक कपडामा थिइन् ।
ठूलो उनीको कोट लगाएर नचिनिने जस्तै देखिएकी ज्योतिले अरु पहिरन भने अन्य समयकै जस्तो लगाएकी थिइन् तर सुरुमा स्टेज चढेका बद्रीले गाउने बेलासम्म उनी बढ्दो चिसोले आत्तिएकी जस्तो देखिन्थिन् र सलले शरिर ढाकेर आयोजकको छेऊमा बसेकी थिइन् । करिब १ घन्टा बद्रीले स्टेज सम्हाले तर बीचबीचमा उनले ज्योति सँगै रहेको र उनीसँग गाएका गीतका टुक्काहरु पनि गाइरहेका थिए । उनले लोकभाकामा धेरै माया प्रेमकै गीत गाए भने पन्चेबाजाका गीतबाट पाकापुस्ता र नयाँ पुस्तालाई छमछमी नचाएका थिए ।
अन्तिममा उनले ज्योतिसँग गाएको गीतका टुक्का दर्शकहरुसँग गाउने र यसलाई सामाजिक सन्जालमा राख्ने भन्दै आफ्नै मोबाइलबाट भिडियो खिच्दै गाउँदै गरेको थिए । बद्रीले गाउँदा पनि परिरहेको शीतलहर बढ्दै थियो यो बीचमा उनले आफ्नो प्रस्तुती करिब सकाउन थालेका थिए । प्रदर्शनीका सांगीतिक कार्यक्रम संयोजक लालप्रसाद बस्यालले अन्तिममा पंगेनी र मगरको दोहोरी हुनुपर्ने प्रस्ताव राखेसँगै उनले त्यसलाई स्वीकार गरे र अन्तिममा नेपालमा मात्रै उत्पादन भएका वस्तुको प्रदर्शनीमा आउँदा आफू निकै खुसी भएको र नेपाली कपडा लगाउन पाएकोमा आफूलाई गर्व लागेको सुनाए ।
बद्रीपछि उद्घोषकले गायिका ज्योतिलाई स्टेजमा आमन्त्रण गरिन् । उद्घोषकले ज्योतिलाई प्रष्ट वक्ता, हिट गायकलगायतका फुर्का गाँसेपनि ज्योतिले सुरुमै आफू धेरै बोल्न नजान्ने तर गीतसंगीतको मर्म बुझेको मात्रै भन्दै त्यसको कटाक्ष गर्दै गीतसंगीतमा रमाउने मान्छे भएको दावी गरिन् ।
अन्य समयमा उनी स्टेजमा चढ्दाको अवस्था र सोमबार साँझको अवस्था भिन्न थियो । अधिकांश स्टेजमा छोटा कपडा लगाएर गाउनेनाच्ने पहिचान बनाएकी उनी केही शब्दहरु उछृंखल बोलेरै दर्शक हँसाउन पारंगत छन् । यहाँ पनि उनले त्यसै गरिन् । सुरुमा उनले ठूलो कोट लगाएर गाइन् तर केही सहभागीले तलबाटै हुटिङ गरे त्यो कोट खोल्नुपर्छ गाउनलाई । यसमा उनले केही मजाक गरिन् यो कोट खोल्नलाई मलाई बिहे गर्नुपर्छ । यो भन्दै उनले दोस्रो गीत गाउन मात्रै थालेकी थिइन् कोट खोलेर गाउँदै उफ्रन थालिन् । धेरैजसो सहभागी डबल त्रिपल ज्याकेटसहितका बाक्लो कपडा लगाएर पनि लुगलुग काँपिरहेको अवस्थामा सामान्य शरिर छोप्ने कपडा लगाएर स्टेजमा उफ्रन थालेपछि सहभागीले पनि उसैगरी हुटिङ गर्न थालेका थिए ।
सबै सहभागी बढ्दो चिसो र सिपसिपे शीतलहरीले भिजिरहेका बेला ज्योतिले भने लगातार आफ्ना प्रस्तुती राखिरहिन् करिब १ घन्टासम्म । चिसोले बीचबीचमा तातो पानी माग्दै पिइरहेकी उनले अन्तिममा भने बद्री पंगेनीसँग दोहोरि गाएकी थिइन् ।
मगर स्टेजमा दर्शक नचाउने किसिमका गीत र नृत्य प्रस्तुत गर्ने गायिकाका रुपमा चर्चामा छन् । कतिपय ठाउँमा उनको गीत र शैलीलाई लिएर आलोचनासमेत भएपनि उनी आउने भनेपछि दर्शक ओइरिने गर्दछन् । स्टेज चढेकै सुरुमा उनले बुटवलबाट नै आफ्नो कला क्षेत्रको सुरुवात भएको र बद्री पंगेनीहरु नै त्यसको गुरु भएको जनाइन् ।
ज्योतीले आफू रोल्पाली भएको र बुटवलसँग बलियो साइनो भएको बताइन् । मगरको जन्म रोल्पा जिल्लाको नुवागाउँ गाविसमा भएपनि उनी सानै हुँदा परिवार दाङमा बसाई सर्यो । एकदमै रमाइलो स्वभाव र मनमा आएको सबै कुरा नलजाई भन्ने गायिकाको रुपमा उनी परिचित छन् । उनले माया सँग र उही मुलाको सिन्की उही मुलाको चाना, ढाडे बिबिरालोुसहितका गीत धेरैजसो स्टेजमा गाउँछिन् बुटवलमा पनि तिनै गाइन् ।
मंगलबार गायक प्रकास सपूत र जमुनाम सनम आउनेछन् । पुस ३ गतेदेखि १७ गतेसम्म चलेको प्रदर्शनीमा स्वदेशी उद्योगहरुको प्रदर्शनीसँगै कृषि, पर्यटन र प्रविधिलाई केन्द्रमा राखेर विविध कार्यक्रम गरिएको संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले बताए ।
संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले सोमबार टिकट काटेर आउने अधिकांश ज्योतिकै कारण आएको तर धेरै शीतलहरका कारण मान्छे आउन नसकेको जनाए । ‘स्टेज त खचाखच भरिएको थियो तर आज मौसमले साथ दिएको भए ज्योति र बद्री आउँदा हामीलाई व्यवस्थापन गर्न समस्या पर्ने थियो तर सबैभन्दा सकारात्मक पक्ष घरबाट बाहिर निस्कन नसक्ने अवस्थाको मौसममा रातीसम्म टिकट काउन्टरमा लागेको भीड, १० बजेसम्म प्रदर्शनी स्थलमा सहभागीको घुँइचोले उनीहरुको चाहनालाई देखाउँछ’ उनले भने ।




















प्रतिक्रिया