२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

रास्वपाको समानुपातिक सूचीबाट कलाकार आसिफ शाह बाहिरिए, काठमाडौं-५ बाट प्रत्यक्ष उम्मेदवारी दिने घोषणा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्द सूचीमा समावेश भएका कलाकार आसिफ शाहले आफ्नो नाम फिर्ता लिएका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै समानुपातिक उम्मेदवारीबाट अलग हुने घोषणा गरेका हुन् ।

आफ्नो धारणा सार्वजनिक गर्दै शाहले देश निर्माणका लागि योगदान कुनै एक पद वा हैसियतमा सीमित नहुने उल्लेख गरेका छन् । जनता र पार्टीभित्रका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो आफूले रोज्न नसक्ने स्पष्ट गर्दै उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, “देश निर्माणका लागि आवश्यक योगदान म जुनसुकै पद वा हैसियतमा रहे पनि सधैँ गर्न तयार छु । तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ । यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।”

समानुपातिक सूचीबाट नाम फिर्ता लिएसँगै शाहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष उम्मेदवारी दिने घोषणा पनि गरेका छन् । प्रत्यक्ष निर्वाचनमार्फत जनताको मत लिएर संसद् पुग्ने अठोट व्यक्त गर्दै उनले देशभन्दा ठूलो केही नभएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ, उठ्ने नै हो । हामी काठमाडौं-५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौँ । देशभन्दा ठूलो केही हुँदैन ।”

शाहले आफ्नो निर्णय व्यक्तिगत मात्र नभई पार्टीभित्र स्वस्थ राजनीतिक संस्कार स्थापित गर्ने उद्देश्यसँग जोडिएको बताएका छन् । उनले समानुपातिक सूचीमा रहेका अन्य नेताहरू र कार्यकर्ताहरूलाई पनि जनभावना अनुसार आ-आफ्नो नाम फिर्ता लिएर ‘दुई कदम पछाडि हट्न’ आग्रह गरेका छन् ।

कलाकारका रूपमा पहिचान बनाएका आसिफ शाहको यो निर्णयपछि रास्वपाभित्र समानुपातिक र प्रत्यक्ष उम्मेदवारीलाई लिएर भइरहेको बहस थप चर्किने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  १० : ०१ बजे

एनपीएल : लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित

काठमाडौं । अपराजित यात्रामा रहेको लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६

सरकारले काम गरिरहेको छ, गौतमबुद्ध विमानस्थल चाँडै चल्छ : सांसद अग्रवाल

भैरहवा । प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा

यात्रु कुट्ने चालक र सह-चालक पक्राउ

बुटवल । मागेजती भाडा नदिएको निहुमा यात्रीमाथि कुटपिट गर्ने चालक