काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार)देखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक बिहान ११ बजे ललितपुरस्थित मेजेस्टिक ग्रेन्ड पार्टी प्यालेसमा बस्नेछ ।
११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीको अध्यक्षतामा नयाँ केन्द्रीय नेतृत्व चयन भएपछि दोस्रो पटक बस्न लागेको यो बैठकलाई पार्टीले महत्त्वपूर्ण रुपमा लिएको छ । यसअघि पुस ४ गते बसेको पहिलो बैठकले आजदेखि पुस २८ गतेसम्म दोस्रो बैठक सञ्चालन गर्ने निर्णय गरेको थियो ।
बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका विषयमा विस्तृत छलफल हुने सचिव अधिकारीले जानकारी दिए । निर्वाचन रणनीति, संगठन सुदृढीकरण, उम्मेदवार छनोटको आधार र चुनावी अभियान सञ्चालनका विषय बैठकको मुख्य एजेन्डामा रहने जनाइएको छ ।
यसका साथै बैठकमा केन्द्रीय सल्लाहकार परिषद् गठनबारे पनि छलफल हुने छ । पार्टीमा यसअघि निर्वाचनमा पराजित भएका, अनुभवी, पाका तथा हाल कार्यकारी भूमिकामा नरहेका नेताहरूलाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने एमालेको तयारी रहेको छ । परिषद् गठनमार्फत पार्टीको नीति, रणनीति र संगठनलाई थप सुदृढ बनाउने उद्देश्य राखिएको बताइएको छ ।
एमालेले निर्वाचनलाई लक्षित गर्दै यसअघि नै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति र उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिसकेको छ । आजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकले यी समितिहरूको कामलाई थप दिशा दिने तथा आगामी निर्वाचनमा पार्टीको भूमिका र तयारीलाई औपचारिक रुपमा टुंग्याउने अपेक्षा गरिएको छ ।
बैठक पुस २८ गतेसम्म चल्ने र आवश्यक परे अन्य समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने पार्टीले जनाएको छ ।


















प्रतिक्रिया