२७ पुस २०८२, आइतबार | January 11, 2026

ड्रोन विवादले कोरियाली तनाव उत्कर्षमा



सियोल । उत्तर कोरियाले दक्षिण कोरियामाथि सीमा पार गरी ड्रोन उडाएको गम्भीर आरोप लगाउँदै त्यसको ‘कडा जवाफ’ दिने चेतावनी दिएको छ । शनिबार उत्तर कोरियाली सेनाले जारी गरेको विज्ञप्तिमा दक्षिण कोरियाले गरेको भनिएको ड्रोन घुसपैठलाई ‘अक्षम्य उन्माद’ को संज्ञा दिँदै त्यसको परिणाम अवश्य भोग्नुपर्ने बताइएको छ । दक्षिण कोरियाले भने यी सबै आरोप तुरुन्तै अस्वीकार गरेको छ ।

उत्तर कोरियाको कोरियाली पिपुल्स आर्मीका जनरल स्टाफले राज्य सञ्चारमाध्यममार्फत सार्वजनिक गरेको विज्ञप्तिअनुसार आइतबार उत्तर कोरियाको सीमावर्ती सहरमाथि उडिरहेको एक दक्षिण कोरियाली ड्रोनलाई विशेष इलेक्ट्रोनिक युद्ध प्रविधि प्रयोग गरी खसालिएको थियो । उक्त ड्रोनमा दुईवटा क्यामेरा जडान गरिएको र ती क्यामेराले उत्तर कोरियाका अनिर्दिष्ट क्षेत्रहरूको तस्बिर खिचिरहेको दाबी गरिएको छ ।

विज्ञप्तिमा उत्तर कोरियाले इलेक्ट्रोनिक आक्रमणपछि पनि सेप्टेम्बर २७ मा अर्को दक्षिण कोरियाली ड्रोन उत्तर कोरियाको हवाई क्षेत्रमा घुसपैठ गरेको आरोप लगाएको छ । अधिकारीहरूले उक्त ड्रोनबाट उत्तर कोरियाका ‘महत्त्वपूर्ण वस्तुहरू’ सम्बन्धी भिडियो डाटा फेला परेको दाबी पनि गरेका छन् ।

“हाम्रो सार्वभौमसत्तामाथि गुण्डाहरूले पटक-पटक गरेको अपमानजनक अतिक्रमण र खुला उत्तेजक कार्यहरूको हामी कडा निन्दा गर्दछौँ”, उत्तर कोरियाले जनाएको छ । विज्ञप्तिमा दक्षिण कोरियालाई आधिकारिक नाम गणतन्त्र कोरिया ९आरओके० उल्लेख गर्दै ‘आरओकेका सैन्य युद्धोन्मादीहरू आफ्ना अक्षम्य उन्मादका लागि निश्चित रूपमा महँगो मूल्य तिर्न बाध्य हुनेछन्’ भन्ने चेतावनी दिइएको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने उत्तर कोरियाले दाबी गरेको समयमा वा स्थानमा कुनै पनि दक्षिण कोरियाली ड्रोन सञ्चालन नगरिएको स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार उत्तर कोरियाले उल्लेख गरेको ड्रोनको प्रकार पनि दक्षिण कोरियाको सेनाले प्रयोग गर्ने ड्रोनसँग मेल खाँदैन ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयका वरिष्ठ अधिकारी किम होङ-चियोलले उत्तर कोरियामा फेला परेका ड्रोनहरू सर्वसाधारणले उडाएका हुन् कि होइनन् भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन । उनले दक्षिण कोरियाको तर्फबाट उत्तर कोरियालाई उक्साउने कुनै उद्देश्य नरहेको र कोरियाली प्रायद्वीपमा विश्वास निर्माण गर्ने प्रयासहरू निरन्तर जारी रहनेसमेत स्पष्ट पारेका छन ।

यो घटनाक्रमले दक्षिण कोरियाको वर्तमान उदार सरकारद्वारा उत्तर कोरियासँग सम्बन्ध सुधार्ने प्रयासलाई थप जटिल बनाउने देखिएको छ । जुन महिनामा पदभार ग्रहण गर्नुभएका राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग वार्ता पुनः सुरु गर्न र दीर्घकालीन शत्रुतालाई कम गर्न सक्रिय पहल गर्दै आएका छन । तर उत्तर कोरियाले उनका प्रस्तावहरूलाई हालसम्म दृढतापूर्वक अस्वीकार गर्दै आएको छ ।

राष्ट्रपति लीले हालै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शिखर भेटमा दुई कोरियाबीचको वैमनस्य कम गर्न चीनलाई मध्यस्थकर्ताको भूमिकामा सहयोग गर्न आग्रह गरेका थिए । राष्ट्रपति सीले भने धैर्य र संयम अपनाउनुपर्ने सुझाव दिएको बताइएको छ ।

उत्तर कोरियाले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उच्चस्तरीय आणविक कूटनीति असफल भएपछि दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकासँगको संवाद प्रायः त्यागेको छ । त्यसयता उत्तर कोरियाले आफ्नो आणविक र मिसाइल कार्यक्रमलाई अझ शक्तिशाली बनाउने दिशामा ध्यान केन्द्रित गर्दै आएको छ । साथै, उसले दक्षिण कोरियासँगको सम्बन्ध समाप्त भएको घोषणा गर्दै कोरियाली प्रायद्वीपमा शत्रुतापूर्ण ‘दुई-राज्य’ प्रणालीको अवधारणा अघि सारेको छ ।

ड्रोन उडानको विषय पछिल्ला वर्षहरूमा दुई कोरियाबीचको निरन्तर विवादको स्रोत बनेको छ । दुवै पक्षले एकअर्कामाथि आ-आफ्नो क्षेत्रमा ड्रोन पठाएको आरोप लगाउँदै आएका छन् । सन् २०२४ को अक्टोबरमा उत्तर कोरियाले दक्षिण कोरियाले आफ्नो राजधानी प्योङयाङमाथि प्रचार सामग्री खसाल्न तीन पटक ड्रोन उडाएको आरोप लगाएको थियो । दक्षिण कोरियाली सेनाले भने त्यसबेला ती दाबी पुष्टि गर्न नसक्ने बताएको थियो ।

त्यस घटनापछि उत्तर कोरियाले बल प्रयोग गर्ने धम्की दिएसँगै तनाव तीव्र बनेको थियो, यद्यपि दुवै पक्षले कुनै ठूला सैन्य कारबाही नगरेपछि स्थिति क्रमशः शान्त भएको थियो । अर्कोतर्फ, दक्षिण कोरियाले पनि उत्तर कोरियाले कहिलेकाहीँ आफ्नो क्षेत्रमा ड्रोन उडाउने गरेको आरोप लगाउँदै आएको छ ।

डिसेम्बर २०२२ मा दक्षिण कोरियाले पाँच वर्षपछि पहिलो पटक उत्तर कोरियाली ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको प्रतिक्रिया स्वरूप चेतावनी गोली चलाएको, लडाकु जेट र निगरानी ड्रोन परिचालन गरेको घोषणा गरेको थियो । हालको ड्रोन विवादले पुनः एक पटक कोरियाली प्रायद्वीपमा बढ्दो अविश्वास र तनावलाई उजागर गरेको विश्लेषकहरूले बताएका छन् ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ८ : २७ बजे

देश विकासमा सबै लाग्नुपर्छ : अभिनेता हमाल

झापा । नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै

कांग्रेस विशेष महाधिवेशनमा ६२.४ प्रतिशत प्रतिनिधिको उपस्थिति

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधि

महाधिवेशनले चाहेमा नेता, नीति र विधान सबै परिवर्तन गर्न सक्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी राजनीतिको सर्वोच्च

पुरानै आनीबानी र शैलीसँगै बसेर नयाँ भविष्य निर्माण गर्न सकिंदैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी

बहुमत महाधिवेशन प्रतिनिधि जता हुन्छन्, त्यहीँ पार्टी हुन्छ : महेश आचार्य

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले बहुमत