काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. ५ बाट कल्पना शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेकपाका सहसंयोजक माधवकुमार नेपालले सोमबार शर्मालाई औपचारिक रूपमा टिकट हस्तान्तरण गरेका छन् ।
पार्टीभित्र जुझारु, संगठनात्मक क्षमता भएकी र समुदायसँग नजिकबाट काम गर्दै आएकी नेतृका रूपमा परिचित शर्मा नेकपाको केन्द्रीय सदस्य हुन् । उनी साविकको नेकपा माओवादी केन्द्रको रसुवा जिल्ला इन्चार्जका रूपमा कार्यरत रहँदा संगठन विस्तार, जनसम्पर्क र पार्टी सुदृढीकरणमा उल्लेखनीय भूमिका खेलेकी नेतृका रूपमा चिनिन्छिन् ।

युवा पुस्तासँगै महिला, श्रमिक र सीमान्तकृत समुदायसँग सहज रूपमा घुलमिल हुन सक्ने क्षमता भएकी शर्माले यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा टोखा नगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेकी थिइन् । सो निर्वाचनमा उनले सशक्त उम्मेदवारी प्रस्तुत गर्दै स्थानीय स्तरमा राम्रो जनसमर्थन हासिल गरेकी थिइन् ।
नेकपाले काठमाडौं क्षेत्र नं. ५ मा परिवर्तन, समावेशिता र विकासलाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाउने तयारी गरेको जनाएको छ । शर्माको उम्मेदवारीले महिला नेतृत्वलाई थप सशक्त बनाउने र काठमाडौंमा पार्टीको आधार बलियो बनाउने अपेक्षा गरिएको छ ।
टिकट ग्रहणपछि प्रतिक्रिया दिँदै शर्माले काठमाडौं क्षेत्र नं. ५ का मतदातासँग नजिक रहेर काम गर्ने र जनताको आवाज संसदमा प्रभावकारी रूपमा उठाउने बताइन् । पार्टीको विश्वासप्रति आभार व्यक्त गर्दै जनताको समस्या, सुशासन, रोजगारी र समावेशी विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।


















प्रतिक्रिया